तपाईँ सुन्दै हुनुहुन्छः

जनप्रतिनिधिद्वारा बिमलनगरमा रक क्लाइमिङ

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना लगायतका जनप्रतिनिधिले बिमलनगरमा बिहीबार रक क्लाईमिङ गरेका छन् । 

पृथ्वीराजमार्गसँगै रहेको बन्दिपुर–४ बिमलनगरमा सो समूहले रक क्लाईमिङ गरेको हो ।

म्याग्दे गाउँपालिका ६ को शेरामा रहेको करिब ६० मिटर उचाइको चट्टानमा गाउँपालिकाले रक क्लाईम्विङको योजना बनाएकोले कसरी उक्त ठाउँलाई चट्टान आरोहणको लागि विकास गर्न सकिन्छ भन्ने बारे जानकारी लिन र साहसिक खेलको अनुभव बटुल्न रक क्लाईमिङ गरेको गाउँपालिका अध्यक्ष माया रानाले जानकारी दिनुभयो ।

पृथ्वी राजमार्ग नजिकै चट्टान रहेकाले सहज हुने र शेरामा रक क्लाईमिङ सञ्चालन गर्न सके स्थानीयको आयआर्जनमा समेत वृद्धि हुने भन्दै पर्यटनका क्षेत्रमा बन्दिपुरको सिको गर्नुपर्ने अध्यक्ष रानाले बताउनुभयो ।

बिहीबार म्याग्दे गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष चन्द्रबहादुर रानाभाट, ४ का अध्यक्ष प्रेमबहादुर थापा, ५ का अध्यक्ष शिवबहादुर आले, वडा नं. ६ का अध्यक्ष बसन थापा, कार्यपालिकाकी सदस्य बद्रिका भट्टराई, वडा नं. १ का वडा सदस्य विनोद खनाल, शिक्षा शाखाका महेश भट्टराईलगायत सहभागी भएको सिद्ध गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button