पर्वतमा जारी निषेधाज्ञा थप कडाइ गरिने

पर्वत । पर्वतमा जारी निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ ।
स्मार्ट लकडाउनको विषयमा बिहीबार सरोकारवालाका बीचमा छलफल हुँदा जारी निषेधाज्ञालाई केही कडाइ गर्ने निर्णय भएको हो ।
जारी निषेधाज्ञाको अवधि अनिश्चित कालसम्म लम्बाइएको छ । आउँदो चाडबाडलाई लक्षित गरी मानिसहरूको चहलपहल हुन नदिने प्रशासनले जनाएको छ ।
प्रशासनले घर परिवारमा मात्रै बसेर तीज, कृष्णअष्टमी पर्वत मनाउन अनुरोध गरेको छ ।
मन्दिरहरूमा पूजाआजा नगरी नित्य पूजाआजा मात्रै गर्न भनिएको छ ।
जिल्लामा सभा सम्मेलन, जुलुस, आमसभा जस्ता कार्यक्रम नगर्न र नगराउन अनुरोध गरिएको छ भो गोष्ठी, सेमिनार र तालिम सञ्चालन गर्नुपरेमा आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भनिएको छ । मृत्यु तथा विवाह संस्कारमा २० जना मात्रै उपस्थित हुन भनिएको छ ।
विदेशबाट र कोरोना संक्रमित क्षेत्रबाट आउनेहरूलाई अनिवार्य रुपमा क्वारेनटाइनमा राखिने भएको छ ।
सबै प्रकारका शैक्षिक संस्थाहरू विद्यालय, क्याम्पस, प्रशिक्षण केन्द्र, ट्युसन सेन्टर, मण्टेश्वरीमा भौतिक उपस्थितिमा हुने पठनपाठन यथावत् रुपमा बन्द नै रहने भएका छन् ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्वारा जारी सूचनामा पार्टी प्यालेस, सिनेमा हल, व्यूटीपार्लर, सैलुन, कवर्डहल, जिम खाना, खेलमैदान नखोल्ने र सञ्चालन नगर्ने निर्णय भएको उल्लेख छ ।
सर्वसाधारणलाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र निस्कनुपरेमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न भनिएको छ ।
किराना पसल, होटल, चिया तथा खाजा पसलमा क्षमताको ५० प्रतिशत मात्रै मानिसहरू लाई सेवा दिने र स्वास्थ्य सुरक्षाको पालना गर्न भनिएको छ ।
यस्तै घरदैलोमा गएर बचत सङ्कलन गर्ने बाहेक बैङ्क तथा वित्तीय संस्थाहरू बाट हुने कार्यहरू स्वास्थ्य सुरक्षाको पालना गरी गर्ने र गराउने आदेशमा उल्लेख छ ।
सार्वजनिक, सरकारी तथा निजी सवारीसाधनमा मास्कको प्रयोग गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा कोरोना सङ्क्रमणको अवस्था जोखिमपूर्ण बन्दै गएको र आगामी दिनमा कडाइ गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न अनुरोध गरिएको छ ।
कोरोनाको शङ्का लागेमा तत्काल परिक्षण गर्ने र आइसोलेसनमा बस्ने कुरामा ध्यान दिन जिल्लावासीहरूलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्