कोरोनाले थलिएको कर्णालीको पर्यटन क्षेत्र लयमा फर्किदैःपर्यटन व्यवसायी उत्साहित

जुम्ला ।कोरोनाले थला परेको कर्णालीको पर्यटन क्षेत्र फेरी पुरानै लयमा फर्किन थालेको छ । पहिलो र दोस्रो लहरको कोभिडका कारण सुस्ताको कर्णालीको पर्यटन क्षेत्रमा पुन चहलपहल बढ्न थालेको हो । कर्णालीका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढ्न थालेको छ ।
नेपालको ठुलो रारा तालमा गएको ३/४ महिनादेखि आन्तरिक पर्यटकको आगमन बढेपनि हुम्ला,मानसरोवर,डोल्पाको सेफोक्सन्डो जुम्लाको चन्दननाथ लगायतका क्षेत्रमा बाह्य पर्यटक आउने क्रम बढेको छ । विशेष गरी हुम्लाको कैलाश मानसरोवर दर्शन गर्न भारितय सद्गुरु सहितको टोली बुधवार हुम्ला पुगे सँगै कर्णालीको पर्यटन क्षेत्रमा चहलपहल बढेको हो भने पर्यटन व्यवसायी उत्साहित समेत भएका छन् ।

यति बेला स्वास्थ्य मापदण्ड पुरा गरेर जुम्ला,मुगु,हुम्ला र डोल्पा आउने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको पर्यटन व्यवसायीहरूले बताएका छन् । हुम्लाका पर्यटन व्यवसायी विजय लामाका अनुसार सद्गुरुले हुम्ला विमानस्थलदेखि लाप्चा सम्म पैदल यात्रा गर्ने भएका छन् ।
लाप्चाबाटै मानसरोबारको दर्शन गरिने भएकोले पैदल यात्रा गर्ने र बिचमा सद्गुरुको स्वागतका स्थानीय संस्कृति झल्कने झाँक्री प्रस्तुत गर्ने तयारी समेत गरिएको छ । सद्गुरु सहित उनका साथमा ५९ जना पर्यटक,५५ जना पर्यटन व्यवसायी सहितको टोली रहेको छ । भने सद्गुरुको टोलीलाई कैलाश मानसरोवर पुग्न ११ दिन लाग्ने समेत व्यवसायी लामाले उल्लेख गर्नुभयो ।
यता जुम्लाका पर्यटन व्यवसायी नोर्बु लामाले पनि कर्णालीको पर्यटन क्षेत्र फेरी पुरानै लयमा फर्किन थालेको बताउनुभयो । कोरोनाले दुई वर्ष सम्म ठप्प भएको पदयात्रा पनि सञ्चालनमा आउने उहाँको भनाई छ । हुम्लाको मानसरोवर दर्शन गर्न जुम्ला हुँदै जाने पर्यटक बढेको उनको भनाई छ । जुम्लामा केही घुमेर पदयात्रा गरी अधिकांश पर्यटक मुगु रारा हुँदै हुम्ला पुगेका छन् । उहाँले भन्नुभयो,“कोरोनाले थलिएको पर्यटन क्षेत्र फेरी माथि उठ्ने अवस्थामा पुगेको छ । पर्यटक आउन थालेपछि खुसीयाली पनि छाएको छ । पर्यटकहरूको चाहाना अनुसार होटेलको स्तरबृद्धिमा समेत जुटेको छु ।”

करिब पाँच हजार मिटर अग्लो स्थानमा रहेको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्नका लागि सद्गुरुको भ्रमणले आगामी दिन अन्य पर्यटकको पनि आकर्षण बढ्ने आशामा पर्यटन व्यवसायी छन् । पर्यटक आउने सिजन सुरु भएकाले कर्णालीमा पर्यटकका लागि आवश्यक शान्ति सुरक्षा सँगै असल व्यवहारका लागि पनि प्रदेश तथा स्थानीय सरकारले छलफल अन्तरक्रिया गर्नुपर्ने व्यवसायीको माग छ ।








प्रतिक्रिया राख्नुहोस्