वर्षाले रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा, देवदहमा पुल भासियो

रुपन्देही । लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाव बढेपछि डुबान सुरु भएको हो ।
वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो । “अहिलेसम्म मानवीय क्षति भएको छैन, अन्य क्षतिको विवरण सङ्कलन गरिहेका छौँ”, उहाँले भन्नुभयो ।
यसै गरी बिहीबार बेलुकादेखि परेको अविरल वर्षात्का कारणका पूर्वपश्चिम लोक मार्गको देवदह–७ शीतलनगरस्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । पक्की पुल भासिएपछि वैकल्पिक व्यवस्था नभएका कारण सडकमा सवारी आवागमन रोकिएको प्रवक्ता थापाले बताउनुभयो । पुल भासिएपछि बुटवलतर्फबाट जाने र आउने सवारी साधन सडकमै रोकिएका छन् ।
नेपालगन्ज जलमग्न
राँझा– गए रातिदेखि परेको अविरल वर्षाले नेपालगन्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्यूरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका स्थानमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालगन्जमा २० मिलीमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगन्जमा सामान्य वर्षातकमा पनि डुबान हुने गरेको छ । पानी जमेपछि पैदल यात्रीलाई आवतजावतमा समस्या भएको छ । निरन्तरको वर्षात्ले सहरका विभिन्न स्थान डुबानमा भएकाले थप जोखिम हुन नदिन उपमहानगरपालिकाले सरसफाइ शाखाका कर्मचारीलाई परिचालन गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो ।
निरन्तरको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह तीन मिटर पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । कुसुममा साढे पाँच मिटर सतह पुग्ने बित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन् । भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि बर्सेनि गाउँ डुब्ने गर्दछन् । वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा तयारी रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्