स्याङ्जामा भदौ २५ गतेसम्म निषेधाज्ञा थपियो

वालिङ । स्याङ्जामा निषेधाज्ञा कायमै रहेको छ ।
देशभरी नै कोभिडको संक्रमण बढिरहेका कारण स्याङ्जामा समेत संक्रमण दर कम नभएको भन्दै निषेधाज्ञा लम्बिएको हो ।
कोरोनाको दोस्रो भेरियन्ट सुरु भएपछि गत वैशाखबाट निषेधाज्ञा जारी गरिएको थियो । बिहीबार सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकलाई निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको हो ।
थप गरिएको निषेधाज्ञा बिहीबार राति १२ बजेबाट लागू भई भदौ २५ गते राति १२ बजेसम्म रहनेछ ।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको पालना गर्न गराउन सम्पुर्ण नागरिक, विभिन्न सङ्घसंस्था, पेसाकर्मी व्यवसायी सबैलाई अनुरोध गरेको छ ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, घर बाहिर निस्कँदा अनिवार्य स्वास्थ्य मापदण्ड पालन गर्न गराउन, सबै प्रकारका भेला, सभा समारोह, गोष्ठी तालिम, जुलुस, मेला महोत्सव तथा खेलकुदका प्रतियोगिता नगर्न आग्रह गरिएको छ ।
सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुराँ, नाचघर, क्लब फुटसल, जिम खाना, व्युटिपार्लर, सैलुन सञ्चालन नगर्न र होटल तथा रेस्टुराँमा टेकअवे मात्रै सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ ।
औषधी पसल २४सै घण्टा सञ्चालन हुनेछ भने अन्य पसलहरू बिहान ५ देखि बेलुका ७ बजेसम्म मात्रै खुल्ला रहनेछन् ।
विवाह, व्रतबन्ध, अन्य धार्मिक तथा सांस्कृतिक कार्य गर्दा घरका परिवार मात्रै सहभागी हुन, स्वास्थ्य मापदण्ड पालना गर्न र विवाहको हकमा दुवै पक्षबाट बढीमा २५ जनासम्म सहभागी हुन भनिएको छ ।
मठमन्दिर तथा धार्मिक स्थलहरूमा नित्य पूजा मात्रै गर्न, विद्यालय, क्याम्पस तथा शैक्षिक संस्थाहरूमा अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो ।
निषेध गरिएको कार्य गरे गराएको खण्डमा सङ्क्रामक रोग ऐनअनुसार कारबाही हुने समेत उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्