तपाईँ सुन्दै हुनुहुन्छः

लोसपाको पहिलो कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं ।  पार्टीको आगामी रणनीति बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक बस्दै छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ः०० बजे बस्ने बैठकले पार्टीको आगामी कार्यनीति र रणनीतिबारे छलफल गर्ने सो पार्टीले जनाएको छ । निर्वाचन आयोगबाट बुधवार नयाँ दलको मान्यता पाएको सो पार्टीको पहिलो कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

मुलुकको समसामयिक परिस्थितिबारे पार्टीको धारणा तथा आगामी कार्यनीति र रणनीतिबारे बैठकले निचोड निकाल्ने कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । उहाँका अनुसार परिवर्तित अवस्थामा पार्टीको भूमिका, पार्टीले उठाउँदै आएका मुद्दा तथा वर्तमान सरकारमा सहभागिता आदि विषयमा पनि बैठकमा छलफल हुनेछ । उक्त पार्टीले आफ्ना माग सम्बोधन हुने अवस्थामा सरकारमा सहभागिता जनाउन सकिने सङ्केत गरिसकेको छ ।

यद्यपि यो विषयमा औपचारिक धारणा आइसकेको छैन । महन्थ ठाकुरको अध्यक्षमा स्थापना भएको पार्टीको ३१ सदस्यीय कार्यकारिणी समिति छ । सो पार्टीको वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी रहनुभएको छ । यसैबिच जसपा बाट विभाजन भई नयाँ गठन भएको लोसपा केन्द्रीय कार्यालय साबिकबमोजिम बबरमहलमा रहने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button