तपाईँ सुन्दै हुनुहुन्छः

मालढुङ्गा–बेनी सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम

पर्वत । पर्वतको मालढुङ्गा–बेनी सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको छ । कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने साँघुरो र जीर्ण अवस्थाको यो सडक बर्खा याममा पहिरोले छियाछिया बनाएको छ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर आयोजनाअन्तर्गत पर्ने १३ किलोमिटर दुरीको मालढुङ्गा–बेनी सडक मर्मत अभावमा जीर्ण बनेको हो ।

जलजला–७ धाइरीङका हरि आचार्यले बर्खामा पहिरोले दैनिक जसो अवरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झञ्जट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको बताउनुभयो । दश बर्षअघि गरिएको कालोपत्रे अधिकांश ठाउँमा उप्किएको छ । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवत–जावत प्रभावित हुने गरेका छन् । यो सडकको १२ ठाउँमा पहिरो र खोल्सा पार गर्नुपर्छ ।

मालढुङ्गा, फर्से, फनफने, केराबारी, मिलन चोक, लामाखोत, आँखोला, वारीबेनीमा सक्रिय पहिरो छन् । मिलन चोक प्रहरी चौकीका ट्राफिक प्रहरी अनिल कार्कीले सामान्य वर्षा हुँदा समेत पहिरो र बाढीले सडक अवरुद्ध हुने बताउनुभयो । पुरिएको नाली सरसफाइ नहुँदा सडकमा पानी जमेर हिलाम्मे भएको छ । सडक अवरुद्ध हुँदा बेनी अस्पतालले पोखरा रिफर गरेका बिरामीलाई समयमै अस्पताल पुराउन सकिएको छैन । सडक यातायात भरपर्दो नहुँदा जटिल अवस्थाका बिरामीलाई पोखरा–काठमाडौँका अस्पतालमा लैजान हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ ।

स्तरोन्नतिकै क्रममा रहेको यो सडकमा बर्खायाममा नियमित गाडी चल्दैनन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाले मालढुङ्गा–बेनीसम्मको सडकलाई दुई लेनमा विस्तार गरी कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको पाँच महिनापछि काम सुरु भएको छ । २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभी बाँकेले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ७२ करोड रुपैयाँ लागत अनुमान गरिएको सडक आयोजनाको ठेक्का अवधि २४ महिना छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button