तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालबाट ‘भूमि प्रशासनमा प्रविधि र सुशासन’ कार्यक्रम प्रसारणसम्बन्धी सम्झौता

काठमाडौँ । रेडियो नेपालबाट भूमिसम्बन्धी नीति र योजनाका बारेमा जानकारी गराउने कार्यक्रम प्रसारण गर्ने सम्बन्धमा रेडियो नेपाल र भूमि व्यवस्थापन तथा अभिलेख विभागबिच सम्झौता भएको छ । 


सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर के.सी. र विभागका महानिर्देशक शेषनारायण पौडेलले आज हस्ताक्षर गर्नुभयो । 


सम्झौता अनुसार रेडियो नेपालबाट शुक्रवार बिहान ८.३० बजे ‘भूमि प्रशासनमा प्रविधि र सुशासन’ नामक २० मिनेटको कार्यक्रम प्रसारण हुनेछ । 


सम्झौता समारोहमा बोल्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर के.सी ले रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम २५ वटा एफ एम र ६ वटा मिडियम वेभ स्टेशन तथा अनलाइन मार्फत प्रसारण हुने हुँदा अधिकतम श्रोत लाभान्वित हुने बताउनुभयो ।


भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले प्रविधि मार्फत भूमि व्यवस्था तथा सेवा लिने दिने विषयमा सेवाग्राहीलाई जानकारी दिन रेडियो कार्यक्रम फलदायी हुने बताउनुभयो । 


विभागका निर्देशक रामकुमार महर्जन र गुरुदत्त सुवेदीले प्रविधिको प्रयोग गरी सेवाग्राहीलाई दिने सेवा सम्बन्धमा जानकारी दिन र विभागको काम पारदर्शी बनाउन रेडियो कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button