अब धारापानीबाटै नासों गाउँपालिकाको सेवा प्रवाह

मनाङ । मनाङको नासों गाउँपालिकाले धारापानीबाट नै सेवा प्रवाह गरेको छ ।
गत असार १ गते आएको बाढी पहिरोले गाउँ पालिकाको भवन नै बगाए पश्चात् सो गाउँपालिकाको कार्यालय विस्थापित भएको थियो । त्यसपछि अत्यावश्यक सेवा प्रवाहको लागि छिमेकी जिल्ला लमजुङको बेसीशहरबाट अस्थायी कार्यालय स्थापना गरी कार्य गर्दै आएको थियो ।
मर्स्याङ्दी नदीको सतह घटेपछि र सडक पनि बिस्तारै लयमा आउन थालेपछि अहिले गाउँपालिकाले वडा नं–३ को धारापानीस्थित कार्यालयबाट सेवा प्रवाह गर्न थालेको छ ।
विस्थापित भएको गाउँपालिकाको सेवा धारा पानीबाटै थालिएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो ।
“गाउँपालिकाको भवन बाढीले पूर्ण रुपमा बगाएको छ । तर, वडा नं ३ को कार्यालयमा नै गाउँपालिकाको कार्यालय राखेर सेवा दिन थालेका हौँ । यसले स्थानीयवासीलाई सेवा लिन र दिन पनि सहज भएको छ”, जोखिम मोलेर स्थानीयवासी सेवा लिन लमजुङ पुग्नुपर्ने समस्याले चिन्तित बनेका थिए । नदीमा पानीको सतह घटेपछि जिल्लामै कार्यालय स्थानान्तरण गरेर सेवा प्रवाह गर्न थालेका छौँ ।” उहाँले भन्नुभयो ।
विद्युत् आपूर्ति सहज नभएको अवस्थामा पनि पालिकाले सौर्य ऊर्जाको प्रयोगबाट सेवा प्रवाह गर्दै आएको उहाँले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वबन्धु रेग्मीले बाढी पहिराले गाउँपालिकाको कार्यालयमा रहेका सबै कागजात बगाए पनि प्रविधिले गर्दा आवश्यक तथ्याङ्क सुरक्षित रहेको बताउनुभयो ।
“बाढीले सम्पूर्ण कागजात बगाए पनि प्रविधिको प्रयोगले सुरक्षित छ । प्रविधिको प्रयोग नभएको भए विगतका पुराना तथ्याङ्कबिना काम गर्न सकिँदैन थियो, यसले हामीलाई सहज बनाएको छ ।” उहाँले भन्नुभयो ।
गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले धारापानीस्थित नासों गाउँपालिकाको कार्यालयसँगै रहेको प्रभु बैङ्क, प्राइम कमर्सियल बैङ्क, सीमा प्रहरी चौकी, पर्यटकीय होटलसहित स्थानीयवासीका केही घर बगाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्