तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली हात्ती नियन्त्रणका लागि मेचीनगरमा विद्युतीय तारबार लगाइने

झापा । झापाको मेचीनगर नगरपालिकास्थित चारआली सामुदायिक वनदेखि मागुरमाडी वनको मूल खण्डसम्म ५७ दशमलव ७ किलोमिटरमा जङ्गली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्ने तयारी भएको छ । 

चारआली सामुदायिक वनदेखि मागुरमाडी वन मूल खण्डसम्मको ६ दशमलव ३४ किलो मिटर र मागुरमाडी वन मूल खण्डको ५१ दशमलव ३६ किलोमिटरमा विद्युतीय तारवार निर्माण गर्ने तयारी गरिएको हो ।

हाललाई नगरभित्रका अधिकांश सामुदायिक वनलाई समेट्ने गरी निर्माण हुने ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारले आगामी दिनमा तेलपानी सामुदायिक वनलाई समेत जोड्ने जनाइएको छ । 

क्रमागत बजेट अनुसार वन मन्त्रालयको हाल ३ करोड रुपैयाँबाट राष्ट्रिय प्रकृति संरक्षण कोषले कामको थालनी गर्ने छ । 

मेचीनगर नगरपालिका र यस क्षेत्रका सांसदहरूको लामो प्रयासपछि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण कार्य सुरु गर्न लागिएको हो ।

आज मेचीनगर नगरपालिकाको सभाकक्षमा मानव हात्ती द्वन्द्व व्यवस्थापन लागि यस क्षेत्रका १ नम्बर प्रदेशसभा सदस्य, बुद्घशान्ति गाउँपालिका, राष्ट्रिय प्रकृति संरक्षण कोष नगरका जनप्रतिनिधिहरू, डिभिजन वन कार्यालय झापा, कोषका प्रतिनिधि, नगरभित्र रहेका विभिन्न सामुदायिक वन, नेपाली सेना तथा सरोकारवाला निकायबीच छलफल भएको छ ।

छलफलमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारको विस्तृत परियोजना प्रतिवेदन डीपीआरको तयारीमा लाग्न सबै पक्ष सकारात्मक देखिएका छन् । योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भए लगत्तै यस वर्षभित्र ठेक्का प्रक्रियाबाट काम सुरु गरिने छ ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको अध्यक्षतामा भएको छलफलमा स्थानीय सरकार, यस क्षेत्रका सांसदहरूको निक्कै लामो पहलमा योजना सुरु गर्न लागिएको बताइएको छ । 

नगरप्रमुख आचार्यले पछिल्लो समय मेचीनगरवासी जङ्गली हात्तीको चपेटामा परेकाले मेचीनगरसहित जिल्लामा देखिएको जङ्गली हात्तीको आतङ्क दीर्घकालीन समाधानमा सवै पक्ष लाग्नुपर्नेमा जोडिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button