तपाईँ सुन्दै हुनुहुन्छः

क्रियाशील सदस्यताको काम सकेर मात्र अधिवेशन गर्न सुझाव

काठमाडौँ   ।  नेपाली काँग्रेसका नेताले पार्टीको क्रियाशील सदस्यताको सम्पूर्ण काम सम्पन्न गरेर मात्र अधिवेशन प्रक्रिया सुरुआत गर्दा उपयुक्त हुने सुझाव दिनुभएको छ ।

पार्टीको संस्थापन इतर पक्षका शीर्ष नेताहरूको आज ठमेलको चाक्सिबारीमा भएको बैठकले क्रियाशील सदस्यताको काम चाँडै सक्नुपर्ने, जिल्लामा फरक फरक मितिमा नभई देशभर एकै पटक अधिवेशन प्रक्रिया सुरु गर्नुपर्ने लगायतका विषयमा नेतृत्वको ध्यानाकर्षण गराउनुभएको हो ।

बैठकले जिल्ला सभापतिको मागप्रति ऐक्यबद्धता जनाएको छलफल सहभागी नेता बलबहादुर केसीले राससलाई जानकारी दिनुभयो ।    
     
काँग्रेसका केही जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रूप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने लगायत माग गर्दै केन्द्रीय कार्यालयमा मङ्गलवारदेखि धर्ना सुरु गर्नुभएको छ ।    
    
पार्टीको केन्द्रीय निर्वाचन समितिका केही पदाधिकारीसहितको बैठकमा क्रियाशील सदस्यता, अधिवेशन तालिका, जिल्ला सभापतिका मागलगायतका विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरू डा रामशरण महत, अर्जुननरसिंह केसी, दीलेन्द्रप्रसाद बडू, डा मीनेन्द्र रिजाल, केसी, शेखर कोइरालालगायत उपस्थित हुनुहुन्थ्यो ।    
    
केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको अनशन    
काँग्रेसका केही जिल्ला सभापतिले क्रियाशील सदस्यताको सम्पूर्ण सूची तत्काल सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रूप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने लगायत माग गर्नुभएको छ ।    
    
काँग्रेसको संस्थापन इतर पक्षका जिल्ला सभापतिले सो माग गर्दै मङ्गलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिनुभएको थियो भने आजदेखि माग पूरा नभएसम्म रिले अनशन सुरु गरेको काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले जानकारी दिनुभयो ।    
    
अनशनमा नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी, काभ्रेका सभापति आचार्य, धादिङका सभापति रमेश धमला, नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष रञ्जित कर्ण र पूर्व उपाध्यक्ष डिल्लीराम सुवेदी बस्नुभएको छ ।    
    
यस सन्दर्भमा पार्टीका सह महामन्त्री डा प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताको सहमतिमा नै क्रियाशील सदस्यताको सबै निर्णय गरिसक्नुभएको र सो कार्य कार्यान्वयनको चरणमा गएको बताउनुभयो ।    
    
सभापति देउवाले निर्धारित समयमै अधिवेशन गराउन वरिष्ठ नेता पौडेलको सहमतिमा निर्णय गर्नुभएको र जिल्ला सभापतिका माग पनि स्वीकार भइसकेको सन्दर्भमा अनशन किन भनी उहाँले प्रश्न गर्नुभयो ।    
    
सोमबार राति काँग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याइ अन्तिम रूप दिएको थियो ।

नेताहरू कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र रमेश लेखकसहितको कार्यदलले क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बुझाउनुभएको थियो ।    
    
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन अगामी असोज ५ गते हुनेछ ।    
    
यसैगरी काँग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।  रासस    

प्रतिक्रिया राख्नुहोस्

Back to top button