तपाईँ सुन्दै हुनुहुन्छः

नतिजा पकडमा पार्न निर्वाचनको पूर्वसन्ध्यामा पुटिनद्वारा ब्यापक बजेट बाँडफाँड

आगामी महिना हुने संसदीय निर्वाचनअगाडि समर्थन जुटाउन पेन्सन प्राप्त व्यक्तिले १३५ अमेरिकी डलर बराबर नगद पाउने गरी एउटा आदेशमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार हस्ताक्षर गर्नुभएको छ । यसले पछिल्लो समय रूसको सत्तारुढ यूनाइटेड रसिया पार्टीको राजनीतिक अवस्था निर्वाचनमा संघर्षपूर्ण रहेको बुझ्न सकिने पुटिनका आलोचकहरूको भनाइ छ ।

यो नगद वितरण सामाजिक खर्चको एक भागको रुपमा आउने र यसको भड्ताल राज्यकोषबाट आफ्नो पक्षमा निर्वाचन परिणाम पार्न राष्ट्रपति पुटिनले ल्याएको योजनाका रूपमा अथ्र्याइएको छ ।

रूसी नेता पुटिनले सेप्टेम्बरमा तल्लो सदन ‘स्टेट डुमा’ को निर्वाचन अगाडि यो योजना प्रस्ताव गर्नुभएको हो । रूसमा सामानहरूमा बढ्दो मूल्य र घट्दो रोजगारीका कारण पुटिनको दल युनाइटेड रसियाको ख्यातिमा निकै कमी आएको छ ।

रूसी राष्ट्रपतिले सेप्टेम्बर महिनामा १० हजार रूबल (१३५ अमेरिकी डलर) भुक्तानी गर्ने आदेशमा हस्ताक्षर गरिसकेको रूसी प्रशासन केन्द्र क्रेमलिनले पुष्टि गरेको छ । यसले मासिक पेन्सनलाई दोब्बर बनाएको छ ।

आइतबार युनाइटेड रसियाका अधिकारीहरुसँगको भेटमा पुटिनले यस वर्षको बढ्दो मुद्रास्फीतिका कारण पेन्सनरहरुलाई सबैभन्दा बढी असर परेको बताउनुभएको थियो ।

केन्द्रीय बैंकका अनुसार वार्षिक मुद्रास्फीति ६.५ प्रतिशत पुगेको छ । बैंकले जूनमा आफ्नो आधारभूत ब्याज दर सोही आँकडमा बढाएको थियो । यो सन् २०१४ को मुद्रा सङ्कट पछिको सबैभन्दा ठूलो वृद्धि हो ।

पुटिनले सैन्य कर्मचारीहरूलाई १५ हजार रूबल बोनस दिने प्रस्ताव गरिएको एक अर्को आदेशमा आइतबार हस्ताक्षर गर्नुभएको थियो ।

रूसी नेता पुटिनले सडक मर्मत, सार्वजनिक यातायात र आधारभूत संरचना तथा स्वास्थ्य सेवा विकास गर्न अरबौं खर्च गर्ने एक महिना पहिले बताउनुभएको थियो । सरकारले अवकाशको उमेर हद बढाएको विवादास्पद पेन्सन सुधार योजना पारित गरेपछि सन् २०१८ मा युनाइटेड रसियाको ख्याति दरमा तीव्र कमी आउन थालेको थियो ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button