दुवाचौरमा रोपाइँ जात्रा सम्पन्न

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची ७ मा रोपाई जात्रा धूमधामका साथ सम्पन्न गरिएको छ । हरेक वर्ष गाईजात्राको भोलिपल्ट रोपाई जात्रा गर्ने गरिन्छ ।
प्रताप मल्लको पालाबाट मनाइँदै आएको रोपाई जात्रालाई आफूहरूले निरन्तरता दिँदै आएको स्थानीय वीर बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
मौलिक जात्राको रुपमा मनाइने रोपाई जात्रामा धान रोप्नेदेखि लिएर रमाइलो गर्ने सम्मका कार्य गरिन्छ । कृषि प्रधान देशमा धान रोपी सकेपछि बाटोमा धान रोपी, हिलो छेपेर रमाइलो गर्ने श्रेष्ठको भनाई छ ।

झाँकी सहितको जात्रामा दुवाचौर स्वास्थ्य चौकीबाट रोपाई सुरु गरेर बजार परिक्रमासँगै पोखरेदेखि सेल्लेसम्म पुगेर जात्रा सम्पन्न भएको छ । मेलम्ची ७ दुवाचौरको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा विभिन्न रङ दली सांस्कृतिक झाँकीसहित रोपाहारले रोपेको र बाउसेले बाउसे गरेको अभिनय गर्दछन् ।

यसले सांस्कृतिक एवम् जातीय एकतालाई मजबुत बनाउँदै लगेको पाइन्छ । धार्मिक, सांस्कृतिक एकताको अनुपम नमुना हो रोपाइँ जात्रा । यसलाई संरक्षणमा अझ जोड दिन सके पर्यटन प्रवर्धन हुने समाजसेवी रामकृष्ण श्रेष्ठको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्