तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारी संयन्त्रले जिम्मेवारीका साथ भूमिका निर्वाह गर्नुपर्छः सञ्चार सचिव अर्याल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सरकारको दृष्टिकोण कार्यान्वयनको जिम्मा कर्मचारी संयन्त्रको भएकाले जिम्मेवारीका साथ सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।


हालै सचिवमा बढुवा हुनुभएका डिल्लीराम शर्माको सम्मानमा आज मन्त्रालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सचिव अर्यालले जनतालाई छिटो छरितो सेवा प्रवाह गर्नुपर्नेमा आफूहरूको जोड रहँदै आएको बताउनुभयो । 


त्यस अवसरमा सचिवमा बढुवा भई लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिवका रुपमा सरुवा हुनुभएका डिल्लीराम शर्माले सरकारले गरेका राम्रा कामका बारेमा जनतामा सूचना प्रवाह प्रभावकारी ढङ्गले हुनुपर्ने बताउनुभयो ।


सचिव शर्माले नयाँ नयाँ सूचना प्रविधिको अधिकतम प्रयोग गरी जनतालाई छिटो छरितो सेवा दिन सकिने भएकाले सूचना प्रविधिको प्रयोगमा आगामी दिनमा अझ बढावा दिनुपर्ने पनि बताउनुभयो । 


बधाई तथा शुभकामना कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर के.सी., विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ लगायत विभिन्न सञ्चार क्षेत्रका प्रतिनिधि तथा मन्त्रालयका कर्मचारीहरूले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button