अछाममा वैकल्पिक माध्यमबाट सिकाई सहजीकरण

अछाम । कोरोना महामारीका कारण बन्द रहेका अछामका विद्यालयमा वैकल्पिक माध्यमबाट सिकाई सहजीकरण गर्नेतर्फ सरोकारवाला जुटेका छन् । जिल्लामा विद्यालयहरुमा गत वैशाख महिनादेखि पठनपाठन ठप्प हुँदा बालबालिकामा नराम्रो असर परिरहेको अवस्थामा विद्यालयमा वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गर्न सरोकारवाला एकजुट भएका छन् ।
हालै शिक्षा विकास तथा समन्वय इकाई को भर्चुअल बैठक तथा पालिका स्तरीय प्रधानाध्यापकको बैठकबाट वैकल्पिक रुपमा सिकाई सहजीकरण गर्ने तयारी थालिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लक्ष्मण गिरीले बताउनुभयो ।
जिल्लाका कतिपय पालिकाकामा वैकल्पिक माध्यमबाट पठनपाठन शुरु भइसकेको छ भने कतिपय पालिकामा तयारी थालिएको छ । मेल्लेख गाउँपालिकामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर सिकाई सहजीकरण भइरहेको पालिकाले जनाएको छ । यता मङ्गलसेन नगरपालिकामा पनि सिकाई सहजीकरणको कार्य शुरु गरिएको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी टोल शिक्षा शुरु गर्ने निर्णय गरिएको मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बोहराले बताउनुभयो । हाल आफ्नो पालिकामा कोरोनाका संक्रमित न्यून रहेका र स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी वैकल्पिक कक्षा सञ्चालन गर्न सकिने सम्भावना रहेकाले यसतर्फ पहल गरिएको नगरप्रमुख बोहराको भनाई छ ।
भदौ १३ गतेबाट वैकल्पिक सिकाई सहजीकरणको लागि आफूले कार्ययोजना तयार पारेको गङ्गा माविका प्रधानाध्यापक मोतिराम भण्डारीको भनाई छ । अभिभावक तथा शिक्षकबाट कार्ययोजना अनुमोदन गराई नगरमा पेश गर्ने उहाँको भनाई छ । देवल आधारभूत विद्यालय मङ्गलसेनका प्रधानाध्यापक नगेन्द्र ढुङ्गानाले आफूले मङ्गलवार आजबाट टोल शिक्षा शुरु गरेको बताउनुभयो । स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरेर टोल शिक्षा शुरु गरिएको उहाँको भनाई छ ।
विद्यार्थीहरूलाई पालो मिलाई सीमित सङ्ख्यामा बोलाई सिकाइमा सहजीकरण गर्ने गरिएको छ । टोल शिक्षा अन्तर्गत आफ्नो विद्यालय तथा समुदायमा सम्भावित सिकाई सहजीकरणको अवस्था विश्लेषण गरी भदौ १२ गते भित्र नगरपालिकाको शिक्षा शाखामा कार्ययोजना पेश गर्न भनिएको मङ्गलसेन नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दीपेन्द्र विष्टले बताउनुभयो ।
लामो समयदेखि पठनपाठन बन्द हुँदा अछामका ४ सय ९० सामुदायिक गरी करिब ५ सय विद्यालयमा अध्ययनरत बालबालिकाको पठनपाठन प्रभावित भइरहेको छ । बालबालिका विद्यालय जान नपाएपछि बढी असुरक्षित समेत हुने गरेको पाइएको छ । उनीहरू लड्ने, चोटपटक लाग्ने, हातखुट्टा भाँचिने, ज्यानै जाने सम्मका जोखिम रहेका अभिभावकहरूले बताउने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्