जुम्लाका ८ स्थानीय तहमा ३८ करोड बेरुजु

जुम्ला । जुम्लाका एक नगरपालिका र ७ गाउँपालिका गरी ८ स्थानीयतहमा ३८ करोड बढी रकम बेरुजु रहेको देखिएको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार जुम्लाका ८ स्थानीयको ३८ करोड ६८ लाख बढी रकम बेरुजु देखिएको हो ।
जसमा सबैभन्दा बढी बेरुजू यहाँ सिंजा र तिला गाउँपालिकाको रहेको छ । सिंजा गाउँपालिकाको १९ दशमलव ३ प्रतिशत अर्थात् १२ करोड ६४ लाख २४ हजार बेरुजु देखिएको छ । भने, तिला गाउँपालिकाको १३ दशमलव ९१ प्रतिशत अर्थात् ११ करोड ७५ लाख ६९ हजार बेरुजु रहेको छ । भने सबैभन्दा कम तातोपानी गाउँपालिकामा शून्य दशमलव ७३ प्रतिशत अर्थात् ४६ लाख बढी बेरुजु देखाएको छ ।
यस्तै चन्दननाथ नगरपालिकाको ६ प्रतिशत अर्थात् ५ करोड ६६ लाख ८९ हजार, कनकासुन्दरी गाउँपालिकाको ५ दशमलव ०१ प्रतिशत अर्थात् ३ करोड ३८ लाख १२ हजार, पातारासी गाउँपालिकाको ४ दशमलव ९८ प्रतिशत अर्थात् ३ करोड ४८ लाख ५ हजार रुपियाँ बेरुजू देखिएको छ ।
साथै, हिमा गाउँपालिकाको १ दशमलव ३१ प्रतिशत अर्थात् ८४ लाख ४३ हजार, गुठीचौर गाउँपालिकाको शून्य दशमलव ८२ प्रतिशत अर्थात् ४५ लाख ४९ हजार बेरुजु आएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सबैभन्दा बढी बेरुजु देखिएको सिंजा र तिला गाउँपालिकाले नियम सङ्गत खर्च भएको तर सैद्धान्तिक बेरुजु देखिएको दाबी गरेका छन् । भने नागरिक अगुवाहरूले स्थानीयतहमा बढ्दै गएको बेरुजुले आर्थिक अपारदर्शिता तथा मनपरी खर्च गर्ने गलत प्रवृत्तिको विकास भएको बताएका छन् ।
महालेखा परीक्षकको कार्यालयले यहाँको कनकासुन्दरी गाउँपालिकाको ६७ करोड ५३ लाख ४६ हजार, गुठीचौरको ५५ करोड ४८ लाख १० हजार, तातोपानीको ६३ करोड ९३ लाख ८ हजार रकम लेखा परीक्षण गरेको थियो ।
यस्तै तिला गाउँपालिकाको ८४ करोड ५३ लाख ७८ हजार, पातारासीको ६९ करोड ८३ लाख १८ हजार, सिंजाको ६६ करोड ४४ लाख ३९ हजार, हिमाको ६४ करोड ४९ लाख ३ हजार र चन्दननाथ नगरपालिकाको ९४ करोड ५५ लाख ५३ हजार रकम लेखापरीक्षण गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्