तपाईँ सुन्दै हुनुहुन्छः

सडक दुर्घटनामा एकको मृत्यु एक घाइते

महोत्तरी। पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने लक्ष्मीनिँया वनक्षेत्रमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सोमबार राति ज४प २७०० नम्बरको मोटरसाइकलमा सर्लाहीतर्फ जाँदै गरेका धनुषा जिल्लाको मिथिला नगरपालिका–३ का ३३ वर्षीय धनपैत महतोको दुर्घटनामा परी मृत्यु भएको हो । महतोकै मोटरसाइकलमा पछाडि बसेका सर्लाहीको हरिओन नगरपालिकाको अत्रौलीका १३ वर्षीय नवीन महतो गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको हो ।

राति करिब १० बजे महतो चढेको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना३ख ८८०० नम्बरको तेल ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते भएका दुवैलाई तत्काल उद्धार गरी बर्दिबास–१४ स्थित शुभस्वस्तिक अस्पताल पु¥याइएको र अस्पतालमै चिकित्सकले धनपैतको मृत्यु भएको घोषणा गरेका इप्रका बर्दिबासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । अर्का घाइते नवीनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।

मृतक महतोको शव परीक्षण गर्न आज बिहान प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । तेल ट्याङ्कर, त्यसका चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा राखेको जनाएको छ ।

बालिकाको मृत्यु

राजविराज– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङगा नगरपालिकास्थित कदमहामा आज बिहान भएको सावरी दुर्घटनामा परी एक बालिकाको ज्यान गएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६९५६ नम्बरको तेल ट्याङ्कर सुरुङ्गा नगरपालिकास्थित दिलीप एण्ड ब्रदर्श पेट्रोल पम्प नजिक रोकिराखेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको ना८ख ३४२२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा ट्रक चालक सुनसरी रामधुनि इकराही नपा–४ बस्ने आशाराम चौधरीका नौ वर्षीय छोरी मेनुका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनामा ट्रक चालक ४५ वर्षीय आशाराम चौधरी, निजकी ४० वर्षीया श्रीमती चन्द्रकाला थारुनी निजका छोरा आशिष चौधरी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान सिरहा पठाइएको छ भने ट्रक र टयाङ्कर प्रहरीको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टयाङ्कर चालक तत्काल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button