तपाईँ सुन्दै हुनुहुन्छः

गैँडाको खाग तस्कर गरेको अभियोगमा तीन जना पक्राउ

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जले गैँडाको तस्करको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । २०७६ साल भदौ ३१ गते निकुञ्जको नवलपरासीस्थित मर्दीघोल भन्ने ठाउँमा भाले वयस्क गैँडाको तस्कर अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।


पक्राउ पर्नेहरूमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ पाँच पाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेख बहादुर नेपाली, जाजरकोटको शिवालय गाउँपालिका २ डुङ्ग्राका २७ वर्षीय वीर बहादुर बस्नेत र चितवनको खैरहनी नगरपालिका ६ रिजाल टोलका २५ वर्षीय आरोष उप्रेती रहेका छन् । 


उक्त घटनामा संलग्न आरोपमा कारागारमै रहेका भरतपुर महानगरपालिका वडा नम्बर २८ का जितबहादुर कुमाल र ३३ वर्षीय तारा चेपाङ यस अघि नै पक्राउ परेका थिए । उनीहरूलाई कारागारबाट झिकाएर अनुसन्धान थालिएको थियो । निकुञ्जले पाँचै जनालाई आज सार्वजनिक गरेको थियो ।


गैँडा मारेर खाग धारिलो हतियारले काटेर बिक्री वितरण सहितको यस घटनाका अझै १० जना प्रतिवादीहरू फरार रहेको निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button