सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्छः सह महामन्त्री डा महत
काठमाडौँ । नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाश शरण महतले वर्तमान सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।
नेपाल सांस्कृतिक कलाकर्मी सङ्घले काठमाडौँमा आयोजना गरेको ‘आयौँ हामी चारतारे बोकेर, जय नेपालको सलाम ठोकेर’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक गर्दै उहाँले कांग्रेस नेतृत्वको वर्तमान सरकारले जनताको आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने बताउनुभएको हो । उहाँले वर्तमान सरकारको पहिलो प्राथमिकता कोरोना खोप भएको उल्लेख गर्दै सबै जनतालाई खोप सुनिश्चितता गर्न सरकार लाग्ने बताउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले वर्तमान सरकारले देश र जनतालाई केन्द्र विन्दुमा राखेर काम गर्ने बताउनुभयो । दुई तिहाइनजिक भोट ल्याएको सरकारले काम गर्न नसकेर कांग्रेस नेतृत्वमा सरकार बनेको चर्चा गर्दै उहाँले वर्तमान सरकारको देश र जनताप्रति महत्त्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य एवं सांसद सुजाता परियारले विमोचित गीतले काँग्रेसलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वरिष्ठ कलाकार डिबी गुरुङको रचना, सङ्गीत तथा स्वर रहेको उक्त गीतमा अर्जुन सुनाम र टीका पुनको पनि स्वर रहेको छ । कार्यक्रममा वरिष्ठ गायक गुरुङले पार्टीले कलाकारलाई पनि उचित जिम्मेवारी दिनुपर्ने बताउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्