तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा भदौ १४ सम्म निषेधाज्ञा, सवारी जोर बिजोर चल्ने

तनहुँ । तनहुँमा आगामी भदौ १४ गतेसम्म निषेधाज्ञा (लकडाउन) जारी राख्ने डीसिसिएमसीले निर्णय गरेको छ । सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । 


कोरोनाको जोखिम कायमै रहेको भन्दै आगामी भदौ १४ गते राती १२ बजेसम्मका लागी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । 


जिल्लामा निजी तथा सार्वजनिक सवारी साधन गते अनुसार पुनः जोर बिजोर चलाउने निर्णय भएको सहायक प्रजिअ बरालले बताउनुभयो । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्नुपर्ने निर्णय भएको छ । यस्तै बैठकले कोरोना जोखिमका आधारमा जिल्लाका स्थानीय तहमा ‘स्मार्ट लकडाउन’ गरिने समेत निर्णय भएको छ ।


यस्तै परीक्षाहरू तोकिएको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गराउन पाइने भएको छ । 


बन्द गरिएका सेवा तथा व्यवसाय बाहेक तरकारी फलफुल, माछा, मासु र खाद्यान्न लगायत अत्यावश्यक सेवा तथा वस्तु बिहान ५ बजेदेखि ११ बजेसम्म र खोल्न अनुमति दिइएको अन्य  सेवा तथा व्यवसाय १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने भएका छन् । यसअघि अत्यावश्यकका लागी बिहान ५ बजेदेखि १० बजेसम्म र अन्य व्यवसाय ११ बजेदेखि साँझ ६ बजेसम्म खुलेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button