तपाईँ सुन्दै हुनुहुन्छः

झापामा निजी अस्पतालले बनाइदिने भयो सरकारी विद्यालयको भवन



भद्रपुर, झापा ।
झापामा एक निजी अस्पतालले सरकारी विद्यालयको भवन बनाइदिने भएको छ ।

बिर्तामोडको बी एण्ड सी मेडिकल कलेजले अर्जुनधारा–१ सिस्नेमा रहेको सिंहदेवी माध्यामिक विद्यालयमा दुई तले भवन बनाइदिने भएको हो ।

दुई करोड रुपैयाँको लागतमा मेडिकल कलेजले विद्यालय भवन निर्माण गरिदिने गरी मेडिकल कलेजका अध्यक्ष इन्दिरा गिरी र कार्यकारी निर्देशक दुर्गा प्रसाईँले आइतबार विद्यालय भवनको शिलान्यास गर्नुभयो ।

सामाजिक उत्तरदायित्व अन्तरगत मेडिकल कलेजका तर्फबाट विद्यालय भवन निर्माण गर्न लागिएको कार्यकारी निर्देशक प्रसाईँले बताउनुभएको छ ।
स्थानीय रानीशोभा राईले निःशुल्क उपलब्ध गराएको जग्गामा बी एण्ड सीले भवन बनाइदिन लागेको हो । 

जग्गादाता राईलाई बी एण्ड सीले आजीवन निःशुल्क उपचारको प्रबन्ध मिलाउने भएको छ ।

बढ्दो विद्यार्थी सङ्ख्याका कारण विद्यालयले कक्षा कोठा अभाव झेलिरहेको अवस्थामा भवन बनाइदिने बी एण्ड सीको निर्णयले आफूहरू हर्षित भएको प्रधानाध्यापक लक्ष्मी रिजालले बताउनुभयो । 


विद्यालयमा हाल नौ सय विद्यार्थी अध्ययनरत छन् । आठ कोठाको भवन निर्माण हुनेछ । निर्माण ६ महिनाभित्र पूरा गर्ने गरी काम अघि बढेको छ । 

बीएण्डसीले यसअघि बिर्तामोडको मोहनमाया माविको भवन पनि बनाइदिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button