तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिका अध्यक्ष कालो धानको व्यवसायीक खेतीमा

अछाम । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउदले कालो धानको व्यवसायीक खेती गर्नुभएको छ । 

व्यावसायिक रुपमा कालो धान ‘जी–६० ब्ल्याक राइस’ खेतीको सुरुवात गरिरहेको अध्यक्ष साउदले बताउनुभयो । सुरुमा कालो धानलाई देखेर रहरले सुरुवात गर्नुभएका अध्यक्ष साउदले अहिले भने कालो धानको विशेषता बुझेर व्यावसायिक रुपमा अघि बढाउनुभएको छ ।

पाँच वर्षअघि परीक्षणका लागि लगाइएको कालो धानबाट राम्रो आम्दानी हुने देखेपछि अध्यक्ष साउदको आकर्षण बढ्दै गएको हो । 

पाँच वर्षअघि उहाँले परीक्षणका रुपमा एक रोपनीमा कालो धान लगाउनुभएको थियो । दुई वर्षसम्म परीक्षणको लागि मात्रै कालो धान रोप्नुभयो ।

कालो धानको चामलको माग बढ्न थालेपछि तीन वर्ष अघि व्यावसायिक रुपमा कालो धान लगाउनु सुरु गर्नुभएको हो । 

यसलाई व्यावसायिक रूपमै अगाडि बढाउनका लागि तेस्रो बर्ष २० रोपनीमा कालो धान लगाएको गाउँपालिका अध्यक्ष साउदले जानकारी दिनुभयो । 

उहाँले तेस्रो वर्षमा कालो धानको उत्पादन २० क्विन्टलभन्दा बढी भएको बताउनुभयो । 

“गत वर्ष रामारोशनमा आएको बाढीका कारण करिब १० रोपनी जग्गा बाढीले बगायो ।” उहाँले भन्नुभयो, “अहिले १० रोपनीमा कालो धानको लगाएको छु ।” 

बहुगुणकारी यो धान आर्थिक दृष्टिकोणले पनि अत्यन्त लाभदायक छ । बेर्ना सारेको ९० दिनभित्र यो धान पाकिसक्छ । स्थानीय तवरले खेती गर्दा अन्य धान सरहनै फल्छ । स्थानीय स्तरमा कालो धानलाई प्रतिकिलो ८ सय देखि १ हजारसम्म पर्ने गरेको छ ।

कालो धानलाई व्यावसायिक रूपमै अघि बढाएपछि ४ लाखभन्दा बढी आम्दानी भएको गाउँपालिका अध्यक्ष साउदको भनाई रहेको छ । 

खेतीयोग्य जमिनमा जहाँ पनि फल्ने कालो धानलाई असिना पानीले समेत कुनै असर नगर्ने र पाकिसकेपछि थ्रेसर मेसिनबाट मात्रै झार्न सकिने अध्यक्ष साउदले बताउनुभयो ।

कालो धानको चामलको माग शहरी क्षेत्रका होटलमा बढ्दो छ । “कालो धानको माग स्वदेशमा मात्रै नभई विदेशमा पनि उत्तिकै रहेको छ ।” उहाँले भन्नुभयो, “आफूले फलाएको कालो धान अमेरिका देखि भारतमा समेत निर्यात भएको छ ।” बजारको माग बमोजिम कालो धान अझै उत्पादन गर्न सकेको छैन ।

सबैभन्दा बढी भारतका विभिन्न होटलहरुमा कालो धानको माग बढ्दो छ । स्वेदमा भने होटलदेखि नेपाली सेना, प्रहरी प्रशासनबाट कालो धानको माग हुने गरेको छ । 

रामरारोशन क्षेत्रमा घुम्न आउने आन्तरिक तथा वाह्रय पर्यटहरुले पनि कालो धान किन्ने गरेका छन् ।

कालो धानलाई पर्यटन क्षेत्रसँग जोड्ने योजना गाउँपालिका अध्यक्ष साउदको रहेको छ । 

नेपालको जमिनमा यो धानले प्रवेश गरेको १२÷१५ बर्ष मात्र भएको छ । कालो धान नेपालको जमिनमा प्रवेश नभएका कारण यसको बारेमा जानकारी लिन आन्तरिक तथा वाह्रय पर्यटक रामारोशन आउने गरेका छन् । 

गाउँपालिकामा अन्य कृषकहरूले पनि व्यावसायिक रुपमा कालो कालो धानको सुरुवात गरेमा यसको बारेमा जानकारी लिन पर्यटक आउने गाउँपालिका अध्यक्ष साउदको बुझाई रहेको छ ।

पर्यटकहरूलाई आकर्षित गर्नको लागि कालो धान एक माध्यम बनेको छ । “गाउँपालिका अन्य केही कृषकहरूले पनि आफूलाई खानको लागि कालो धानको सुरुवात गरेको छ ।” उहाँले भन्नुभयो, “अव अन्य कृषकलाई पनि कालो धानको बीउ वितरण गरी गाउँपालिकामा व्यावसायिक रूपमा यसको उत्पादन गर्ने योजना रहेको छ ।”

कालो धान पनि औषधीकालो धान आर्थिक दृष्टिकोणले मात्रै हैन स्वास्थ्यका दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेको छ । 

बढी प्रोटिन प्राप्त हुने कालो धानको चामल स्वास्थ्यका लागि पनि निकै उपयोगी रहेको स्वास्थ्यकर्मीको भनाई रहेको छ ।

कालो धानका विशेषता ‘जी–६० ब्ल्याक राइस’ उच्च पोषणयुक्त धान हो । एक व्यक्तिले एक दिनमा १५ ग्रामका दरले अन्य चामलमा मिसाएर खाएमा रक्तअल्पता, मधुमेह, क्यान्सर, हृदयाघात, उच्च रक्तचाप, मुटु रोग, अल्जाइमर्स जलनबाट बच्न सकिने डा. विकास गौचनको भनाई रहेको छ ।  

पकाउनु अघि दुई घण्टा भिजाएर मात्रै पकाउनु पर्ने र भिजाएको पानीलाई सर्बतको रुपमा सेवन गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुने बताइएको छ । गर्भवती महिला र शिशुलाई स्तनपान गराउने आमाहरूको लागि अत्यन्त लाभदायक हुने डा.गौचनको भनाई रहेको छ ।

यो चामल स्वास्थ्यका दृष्टिकोणले महत्त्वपूर्ण भएका कारण यसको थप खोज तथा अनुसन्धान हुन आवश्यक रहेको डा. गौचनको सरोकारवालालाई सुझाव रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button