गण्डकी प्रदेशको बेरुजु ६० करोड ४१ लाख

पोखरा । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७६/०७७ मा ६० करोड ४१ लाख रुपैयाँ बेरुजु निस्किएको छ ।
उक्त बेरुजु रकम सात प्रदेशमध्ये गण्डकी प्रदेशमा सबैभन्दा कम हो ।
३० अर्ब ७४ करोडभन्दा बढीको लेखा परीक्षण गर्दा ६० करोड ४१ लाख रुपैयाँ अर्थात् १.९६ प्रतिशत बेरुजु निस्किएको हो ।
महालेखाले बेरुजु मध्येको ४ करोड २६ लाख रुपैयाँ असुल गर्न भनेको छ भने बाँकी बेरुजु रकमको कागजी प्रक्रिया पुरा गर्न भनेको छ ।
प्रमाण कागजात पेस गर्नुपर्ने २८ करोड ८८ लाख ५७ हजार, अनियमित भएको १२ करोड २० लाख ७५ हजार र पेस्की बाँकी १४ करोड ५६ लाख ९७ हजार रहेको छ ।
०७५÷७६ सम्म गण्डकी प्रदेशमा १ अर्ब ६४ करोड ४८ लाख १६ हजार बेरुजु देखिएकोमा ७० करोड ९१ लाख ७९ हजार फर्स्यौट भई ९३ करोड ५६ लाख ३७ हजार बाँकी रहेको थियो ।
६० करोड ४१ लाख थप भएपछि गण्डकीमा कुल बेरुजु रकम १ अर्ब ५३ करोड ९७ लाख ३७ हजार कायम भएको छ ।
प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा सबैभन्दा बढी बेरुजु देखिएको छ ।
उक्त मन्त्रालयमा ३८ करोड ६८ लाख बेरुजु रहेको छ । त्यसमध्ये ३ करोड २९ लाख ८१ हजार रुपैयाँ तत्काल असुल गर्न महालेखाले भनेको छ ।








प्रतिक्रिया राख्नुहोस्