तपाईँ सुन्दै हुनुहुन्छः

मनाइयो जनै पूर्णिमा (ऋषि तर्पणी), रक्षाबन्धन

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइएको छ ।


पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्ने गरेका छन् । 
यस अवसरमा पशुपतिनाथ लगायत प्रमुख मन्दिरमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गुरु पुरोहितले भक्तजनलाई यज्ञोपवीत र रक्षा सूत्र लगाइदिएका छन् ।  गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।


जनै पूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षा यामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।


यसैगरी नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षा बन्धन पर्व मनाउने गर्दछन् ।


पहाडी समुदायले आजको दिन लाई रक्षा बन्धन, जनै पूर्णिमा तथा ऋषि तर्पणी, भनेर मनाए जस्तै मधेसी समुदायले राखी पर्व र नेवारी समुदायले गुन्हु पुन्ही पर्व भनी मनाउँछन् । 


गुन्हु पुन्हीका अवसरमा आज नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने भ्यागुता लाई खेतमा लगेर भात र क्वाँटी चढाइ पूजा गर्ने गर्दछन् । 
यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button