तपाईँ सुन्दै हुनुहुन्छः

जातीय विभेद अन्त्य गर्न दमौलीमा पहिलो पटक सामूहिक रक्षाबन्धन

तनहुँ । ब्राह्मण समाज नेपाल, तनहुँले आइतबार दमौलीमा आयोजना गरेको सामूहिक रक्षाबन्धन कार्यक्रममा २५० सर्वसाधारणलाई धागो बाँधिएको छ । 


जनै पूर्णिमाको अवसरमा आयोजित कार्यक्रम दमौलीस्थित व्यास–३ अनसन चौतारीमा भएको थियो । सामूहिक रक्षा बन्धन कार्यक्रमको शुभारम्भ गण्डकी प्रदेश सदस्य डोबाटे विकलाई रक्षाबन्धन गरी सुरु गरिएको थियो ।


धर्म, संस्कृतिको संरक्षण गर्दै जातीय विभेद अन्त्य गर्न पहिलो पटक सामूहिक रक्षाबन्धन कार्यक्रममा आयोजना गरिएको समाजका अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताउनुभयो । 


बिहान ९ बजेदेखि १२ बजेसम्म आयोजित सामूहिक रक्षाबन्धन कार्यक्रममा विभिन्न जातजातिका स्थानीयको उपस्थिति रहेको समाजका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘गण्डकी प्रदेश सभा सदस्य डोबाटे विक पनि कार्यक्रममा सहभागी हुनुभयो ।’


कार्यक्रममा व्यास नगरपालिकाका पूर्व मेयर तारा प्रसाद श्रेष्ठको पनि उपस्थिति रहेको थियो । ब्राह्मण समाज केन्द्रीय कार्य सम्पादन समिति सदस्य डा. लक्ष्मीकान्त चापागाईँ, ब्राह्मण समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्साल, जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डे, पूर्व केन्द्रीय सदस्य तारानाथ घिमिरे लगायतको सहभागिता रहेको समाजले जनाएको छ । 


विशेष रूपले मन्त्रिएको डोरो बाँधेर र नयाँ जनै धारण गरेर आइतबार जनै पूर्णिमा पर्व मनाइएको छ । बिहान नुहाई धुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट हातमा डोरो (रक्षाबन्धन–रक्षा सूत्र) बाँध्ने र जनै लगाउने प्रचलन छ ।


जनैपूणिर्माको दिन बिहानै चोखो माटो, खरानी, गोबर, जौ, तिल र कुश प्रयोग गरी स्नान गर्ने चलन छ । स्नान गरेपछि नयाँ जनै लगाउने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षा सूत्र) धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।


सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षा बन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button