तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवाद्वारा ज्यापु समाजको ज्येष्ठ नागरिक भवन उद्घाटन

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आज ललितपुर महानगरपालिका–४ बागडोलमा नवनिर्मित ज्यापु समाजको ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको उद्घाटन गर्नुभएको छ । 

उहाँले वृद्धावस्थामा कोही पनि वृद्धाश्रममा बस्नुपर्ने परिस्थिति उत्पन्न नहोस् भन्दै यदि त्यस्तो स्थिति आएमा ज्येष्ठ नागरिकहरूलाई उचित सुविधाको व्यवस्था गर्न सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । 

तीन वटै तहका सरकार, स्थानीयवासी एवं समाजसेवीसहित मित्रराष्ट्र भारतको सहयोगले ज्येष्ठ नागरिक लागि निर्माण भएको सुविधा सम्पन्न भवन सञ्चालनमा पनि सरकारले सघाउने उहाँले दृढता व्यक्त गर्नुभयो । 

गृहमन्त्री बालकृष्ण खाँणले ज्येष्ठ नागरिकको सुरक्षाका लागि भवन निर्माण हुँदा मुलुकका धेरै मानिसलाई ऊर्जा प्राप्त भएको बताउनुभयो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पवित्र उद्देश्यका साथ वृद्धवृद्धाको सेवामा सुविधायुक्त आश्रय स्थल निर्माण गरी ज्यापु समाजले राष्ट्रिय भूमिका निर्वाह गरेको बताउनुभयो । 

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले जीवित इतिहासका धरोहर ज्येष्ठ नागरिकले भवनबाट राम्रो सुविधा पाउने अपेक्षाका साथ प्रदेशले भवन निर्माणमा रु दुई करोड ९१ लाख सहयोग गरेको जानकारी गराउनुभयो ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उमेर ढल्केर सहाराविहीन भएका नागरिकलाई छिमेकी मुलुकका तर्फबाट ज्येष्ठ नागरिक भवन निर्माणमा रु पाँच करोड सहयोग गर्न पाउँदा निकै भाग्यमानी महसुस भएको बताउनुभयो । 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समाजको भवन र सोमा बस्ने मानिसको व्यवस्थापन गर्न आर्थिक चुनौती रहँदा सबैले सहयोग गर्ने अपेक्षा लिएको धारणा व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button