तपाईँ सुन्दै हुनुहुन्छः

उत्तम शान्ति पुरस्कार सरिता अर्यालको ‘मेरो अपहरण’ कृतिलाई प्रदान

काठमाडौँ । उत्तम शान्ति पुरस्कार-२०७६ सर्जक सरिता अर्यालको “मेरो अपहरण” शीर्षक रहेको नियात्रा कृतिलाई प्रदान गरिएको छ  । 

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा नेपाली नियात्रा साहित्यको विकासमा विशिष्ट योगदान गरेबापत सर्जक अर्यालको “मेरो अपहरण” नियात्रा कृतिलाई १ लाख १ रुपैयाँ नगद र ताम्रपत्रसहित पुरस्कार प्रदान गरिएको हो ।  

उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०४४ सालदेखि आख्यानमुक्त गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई उत्तम शान्ति पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ । 

नियात्रा निबन्धका फाटमा रागात्मक मानवीय अनुभूतिलाई चुस्त पत्रकारी शैलीमार्फत निष्पक्ष दृष्टि तथा मार्मिक पीडाको उत्खनन गरी सन्त्रास एवम् सङ्घर्षको गहिराइ तथा जीवनप्रतिको विश्वासलाई कलात्मक उचाइका साथ प्रतिबिम्बन गर्दै नेपाली नियात्रा साहित्यको विकासमा विशिष्ट योगदान गरेबापत  अर्यालको “मेरो अपहरण”  कृतिलाई पुरस्कार प्रदान गरिएको उत्तम कुँवर स्मारक पुरस्कार गुठीका सचिव ठाकुर पराजुलीले जानकारी दिनुभयो । 

कोरोना महामारीका कारण गत वर्ष रोकिएको पुरस्कार यस वर्ष प्रदान गरिएको सचिव  पराजुलीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button