तपाईँ सुन्दै हुनुहुन्छः

तिलोत्तमा नगरपालिकाद्वारा १० जना उद्यमीलाई एक लाख राशिको उद्यमशीलता अवार्ड प्रदान


रुपन्देही ।  उद्यमशीलतामा लागेका युवाहरूलाई प्रवर्द्धन गर्न रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १० जना उद्यमीलाई एक÷एक लाख रुपैयाँ नगदसहितको उद्यमशीलता तथा नवप्रवर्तन कोष अवार्ड प्रदान गरेको छ । 

नगरपालिकाले २०७७ कार्तिक २८ गते अवार्डको लागि प्रस्ताव आह्वान गरेकोमा प्रारम्भिक चरणमा १७ वटा प्रस्ताव छनौट भएका थिए । 

छनौट भएका प्रस्तावकदाताले पेस गरेको आफ्नो व्यावसायिक योजनासहितको प्रस्तुतिको मूल्याङ्कनबाट १० जना उद्यमी अवार्डको लागि छनौट भएका थिए  । 

विषय विज्ञ, व्यावसायिक प्रतिनिधिसमेतको सहभागिता रहेको मूल्याङ्कन समितिले १० जना उद्यमीलाई अवार्डको लागि छनौट गरेको नगरपालिकाका शाखा अधिकृत माधव पोखरेलले जानकारी दिनुभयो ।

तिलोत्तमा एग्रो फर्मका ईश्वरी ज्ञवाली, द प्लान्ट स्टेशनका समीर ज्ञवाली, सफल सवारी सेवा प्रा.ली. का रोशन खनाल, माई सिभीका सौरभ खनाल, तु—सेवाका रमेश ढकाल, वेवरी तरकारी उत्पादक कृषक समूह, अनलाइन ग्रोसरीका सिजन अर्याल, कुखुरा पालन व्यवसायी दुर्गाकुमारी राना, मिट मार्टका तेजराज थापा, इन्नोभेटिभ इम्प्लोयमेन्ट एण्ड कन्सल्टेन्टका कुशल डुम्रेले यो अवार्ड अवार्ड प्राप्त गरेका छन् ।

छनौटमा परेका उद्यमीले प्रतिप्रस्ताव एक लाख रुपैयाँ प्राप्त गर्नुको साथै नगरपालिका कार्यालयबाट व्यवसाय दर्ता, तालीम, सहुलियत कर्जा, नियमित परामर्श, यान्त्रीकरण र बजारीकरणलगायतका विषयमा सहयोग प्राप्त हुनेछ । 


युवाहरूलाई व्यवसायमा जोड्दै रोजगारीका अवसर बढाउँदै लैजाने नीतिअनुरूप नगरपालिकामा उद्यमशीलता तथा नवप्रवर्तन कोष स्थापना गरिएको बताउँदै नगर प्रमुख वासुदेव घिमिरेले नवउद्यमीहरुको सहजीकरणको लागि नगरपालिका छुट्टै शाखा स्थापना गरिन लागिएको बताउनुभयो ।

युवाहरूमा उद्यमशीलताको विकास गराउन नगरपालिकाले विना धितो ऋणदेखि निःशुल्क विभिन्न तालीमको व्यवस्था मिलाएको बताउँदै नगर प्रमुख घिमिरेले तिलोत्तमालाई उद्यमशील युवाहरूको नगर बनाउन चाहेको बताउनुभयो । 

उहाँले अवार्डबाट उद्यमीहरूमा हौसला बढ्ने बताउँदै उद्यमशीलता प्रवर्द्धन गर्न नगरपालिका तयार रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button