तपाईँ सुन्दै हुनुहुन्छः

जुट खेतीमा किसानको आकर्षण घट्दै

सुनसरी । कृषि मजदुरको अभावसँगै उत्पादनपछि मूल्य नपाउने समस्याले सुनसरीमा जुट खेती घट्दो क्रममा छ । 

मजदुरको अभावसँगै उत्पादनपछि मूल्य नपाउने समस्याले किसानले जुट खेतीलाई वार्षिक झन्झटको रूपमा लिँदै खेती गर्न छाडेका देवनागञ्जका किसान दिलीप कुमार मेहताले बताउनुभयो ।

जुट खेतीमा किसानको आकर्षण वर्षेनी घट्दै जाँदा कच्चा जुटको अभाव भने मोरङ–सुनसरी औद्योगिक करिडोरका जुट उद्योगलाई भएको छ । 

नेपालमै सबैभन्दा बढी क्षेत्रफलमा जुट खेती हुने जिल्ला सुनसरी भए पनि अहिले जुट खेती खुम्चँदै गएको छ । कच्चा जुट अभावका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका जुट उद्योगले भारत र बङ्गलादेशबाट जुट आयात गरेर वस्तु उत्पादन गर्दै आएका छन् भने यहाँ किसानले जुट खेती त्याग्दै गएका छन् । 

स्वदेशी कच्चा पदार्थ उत्पादनमा वर्षेनी कमी हुँदै गएपछि ठूलो लगानीका र धेरै मजदुरलाई रोजगारी दिने उद्योग समेत समस्यामा पर्दै गएको अरिहन्त मल्टी फाइबर्स लिमिटेडका सि ई ओ गोविन्द बजगाईँले जानकारी दिनुभयो । 

यस क्षेत्रमा चालु अवस्थामा रहेका ५ वटा जुट उद्योगलाई वस्तु उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चा जुटको ३० प्रतिशत मात्र नेपाली जुट उत्पादनले धान्दै आएको छ । बाँकी ७० प्रतिशत कच्चा जुट भारत र बङ्गलादेशबाट आयात गरिन्छ । जसमध्ये ५५ प्रतिशत भारत र १५ प्रतिशत बङ्गलादेशबाट आउने गरेको बजगाईँले बताउनुभयो । 

झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभाव झेल्दै उत्पादन गरेको जुटको उचित मूल्य नपाएका कारण उत्पादन गर्न छाडेको देवानगञ्जका किसान मेहताको भनाई छ ।

कच्चा जुट अभावकै कारण सुनसरी, मोरङ औद्योगिक क्षेत्रमा खुलेका ११ मध्ये हाल ५ वटा मात्र जुट उद्योग सञ्चालनमा छन्  । करिडोरका ५ उद्योगले समेत कच्चा जुट आयात गरेर उत्पादित वस्तुको निकासी गर्दै आएका छन् ।

जुट खेतीमा नेपाली किसानलाई प्रोत्साहन र उत्पादित वस्तु प्रयोगमा उपभोक्तालाई अनिवार्यता कायम गर्न सक्नुपर्ने उद्योगी बताउँछन् । त्यसो गर्न सके मात्रै देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिने उद्योगीको भनाइ छ । 

सुनसरीको इनरुवाको बबिया, कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, बर्जु र गढी गाउँपालिका क्षेत्रमा बढी मात्रामा जुट खेती हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button