भुगु त्रिवेणीधाम निर्माण स्थल बाढीको चपेटामा

तनहुँ । शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको संगमस्थल दोभानमा धार्मिक पर्यटकीय धाम निर्माण गर्ने योजना छ ।
क्याङ्दी खोला, सेती नदी र म्याग्दे खोलाको संगम यो क्षेत्रलाई त्रिवेणी नामकरण गरी यहाँका स्थानीयहरू भृगु त्रिवेणी धाम निर्माणमा जुटेको झन्डै दुई बर्ष बढी भयो । सरकारी तथा गैरसरकारी स्रोतबाट पनि बजेट जुटाएर नदी किनारमा केही संरचना निर्माण भएको छ । तर, बर्खामा सेती नदी र म्याग्देको खोलाको बाढीको चपेटामा यहाँका संरचना पर्ने गरेका छन् । यसबाट लाखौँको क्षति समेत हुने गरेको छ ।
गत बर्ष धाम निर्माण क्षेत्रको अधिकांश जमिन नदीले कटान गरेको थियो । यस बर्ष निर्माणाधीन संरचनामै क्षति पुर्याएको छ । असारमा सेती र म्याग्देको भेलसँगै उर्लिएको बाढीले धाम परिसरमा बनेको मलामी बस्ने प्रतीक्षालय भवनको जग खोतलेर भत्काइदियो । भवनको जगमा नै क्षति पुगेको प्रतीक्षालय कमजोर बन्दै गएको छ ।
यहाँ गत बर्ष गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत ३५ लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि बनेका संरचना नदी किनारमै हुँदा बाढीको उच्च जोखिममा छन् । कुन दिन बाढी पस्छ र सबै संरचना भत्काउँछ टुङ्गो छैन । पहिलो चरणमा आधुनिक शव दाह स्थल निर्माण गरी धामको दीर्घकालीन योजनासहित संरचना निर्माण थालिएको भए पनि धामको भविष्य नदी कटानका कारण सङ्कटमा देखिन्छ ।
भू माफिया र बजेटको अभावमा संरचनामा क्षति पुग्ने अवस्था सिर्जना भएको धाम विकास तथा संरक्षण समितिका सचिव नारायदत्त अधिकारी बताउनुहुन्छ ।
“खोलाको किनारसम्म भू माफियाले जमिन दर्ता गरेका छन्” अधिकारीले भन्नुभयो, “उपयुक्त जमिन नपाएपछि नदी छेउमै संरचना निर्माण गरियो । तर, बजेटको अभावमा तटबन्धन नहुँदा समस्या आइलाग्यो ।”
उहाँका अनुसार धाम क्षेत्रमा अहिले कार्यालय भवनसहित दुई कोठाको गोदाम, शौचालय, मलामी बस्ने प्रतीक्षालय भवन र शवदहन मेसिनका लागि संरचना निर्माण गरेर मेसिन जडान गर्ने काम हुदैछ ।

दुई वर्षको अवधिका झन्डै १ करोड रुपैयाँ बजेट खर्च भइसकेको यस क्षेत्रलाई गुरुयोजना अनुसार विकास गर्न ५ करोड २५ लाख रुपैयाँ बजेट आवश्यक रहेको समितिका अध्यक्ष गोपीकृष्ण तिवारीले जानकारी दिनुभयो ।
पाँच वर्षीय योजना अन्तर्गत विकास भइरहेको धाम क्षेत्रमा तटबन्धनसहित भृगु ऋषिको आश्रम, पार्क, मन्दिर निर्माण लगायतका काम बाँकी छ ।
सेती नदी र म्याग्दे खोलाको दोहोरो कटानको चपेटामा परेको धाम क्षेत्रको विकासका लागी सूर्य नेपाल प्रालिले १० लाख रुपैयाँ, म्याग्दे गाउँपालिकाले ५ लाख रुपैयाँ, शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ को कार्यालयले ५ लाख रुपैयाँ, वडा नम्बर ६ को कार्यालयले २ लाख रुपैयाँ सघाएका छन् ।
स्थानीयबाट १० लाख रुपैयाँ सङ्कलन भएको छ । विभिन्न सङ्घसंस्थाबाट गरेर १ करोड रुपैयाँ सङ्कलन भएको समितिले जनाएको छ ।
खोला किनारमै जोखिम आंकलन नगरी धमाधम संरचना निर्माण गर्दा करोडौँको लगानी, बालुवामा पानी सरह हुने अवस्था छ । तसर्थ निर्माण समितिले पहिला नदी तटबन्धनलाई ध्यान दिनु जरुरी छ ।








प्रतिक्रिया राख्नुहोस्