तपाईँ सुन्दै हुनुहुन्छः

चिवाङ र सुर्केका ५० घर परिवारलाई सोलार हिटर वितरण

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–४ चिवाङ र सुर्केका ५० घरपरिवारलाई सोलार हिटर सिस्टमको सेट वितरण गरिएको छ । 

चिसो सिजनमा पानी जम्ने त्यस क्षेत्रमा सोलार सिस्टमबाट पानी तताउनका लागि सोलार हिटर वितरण गरिएको हो । 

स्थानीय समाजसेवी तथा इबीसी ट्रेक्स एण्ड एक्सपिडिसनका प्रमुख ठिले लामा शेर्पाको पहल तथा अमेरिकन नागरिक जेनाथन केइपर र क्रिष्टी इलियट केइपरको आर्थिक सहयोगमा करिब ३५ लाख रुपियाँ बराबरको सामग्रीहरु हस्तान्तरण गरिएको स्थानीय शिक्षिका गीता कार्कीले जानकारी दिनुभयो । 

सोलार सिस्टम वितरण गर्दै शेर्पाले चिसो ठाउँमा महिला तथा बालबालिकाहरूलाई चिसो पानीका कारण स्वास्थ्यमा समेत समस्या पर्ने भएकाले तातोपानीको व्यवस्थाका लागि सोलार हिटर वितरण गरेको बताउनुभयो । 

यसअघि पनि गाउँमा धेरै सहयोग गर्दै आउनुभएका शेर्पाले आगामी दिनमा पनि गाउँको विकास र स्थानीयको अवस्था उकास्न आफू लागिरहने बताउनुभयो ।

सोलार पाएपछि स्थानीय ६५ वर्षिया मैना विकले खुसी हुँदै भन्नुभयो, “बुढेसकालमा चिसो पानी चलाउन कठिन भएको अवस्थामा तातोपानी तताउने मेसिन पाउँदा धेरै खुसी लागेको छ ।”  

त्यस्तै, अर्का स्थानीय जाङ्बु शेर्पाले पनि हिउँद याममा तातोपानीबाट सरसफाइ गर्न पाउँदा खुसी लागेको बताउँदै सहयोगीलाई धन्यवाद दिनुभयो ।

कोभिड–१९ को महामारीलाई लक्षित गरी कोभिड प्रभावित स्थानीयलाई खाद्यान्न सामाग्री समेत प्रदान गर्नुभएका शेर्पाले यसअघि आधुनिक फलामे चुलो, स्वच्छ खानेपानीको लागि सुरक्षित ट्याङ्की निर्माण तथा पाइप उपलब्ध गराउनु भएको छ ।

शेर्पाले स्थानीय चिवाङ आधारभूत विद्यालयलाई बिजुली, विद्यार्थीका लागि पोसाक, कम्प्युटर, प्रिन्टर, भवन मर्मत, खेल मैदान निर्माणका लागि सहयोग गर्दै आउनुभएको विद्यालयले जनाएको छ । 

सहयोगको पहल गर्ने शेर्पा र सहयोग गर्ने अमेरिकन नागरिकहरूलाई चिवाङ र सुर्केका स्थानीयले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button