तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा साउनमा सवारी दुर्घटनामा परि ११ जनाको मृत्यु, ७५ जना घाइते

चितवन । चितवनमा चालु आर्थिक बर्ष ०७८/७९ को  साउन महिना भित्र सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । 

मृत्यु भएका मध्ये ९ जना पुरुष र २ जना महिला रहेका छन् । कार्यालयका अनुसार सो अवधिमा २३ जना गम्भीर घाइते र ५२ जना साधारण घाइते भएका थिए । एक महिनाको अवधिमा दुर्घटना सङ्ख्या ५१ वटा  भएको थियो भने भने ७८ वटा सवारीसाधन दुर्घटनामा संलग्न थिए । यसबाट ट्राफिक प्रहरीले ९६ लाख ६२ हजार बराबरको सवारीसाधनको भौतिक क्षति भएको अनुमान गरेको छ ।

कार्यालयका प्रमुख भगवानराज थापाले सवारीसाधन कम चलेसँगै दुर्घटनाको सङ्ख्या सँगै अघिल्ला महिनाहरूमा भन्दा मृत्यु र घाइतेको सङ्ख्या पनि कम भएको बताउनुभयो  । ‘सवारीसाधन कम चलेपछि हाम्रो जनशक्ति पनि सहज रुपमा परिचालन गर्न सकिन्छ । उहाँले भन्नुभयो, हामीले स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्न गराउन पनि निगरानी थप बढाएका छौँ ।’ 

२५ लाख ७३ हजार राजश्व सङ्कलन 

कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा २५ लाख भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार सबै प्रकारका सवारीसाधनको कारबाहीबाट एक महिनाको अवधिमा २५ लाख ७३ हजार पांँच सय रुपैयाँ राजश्व सङ्कलन गरेको हो । 

कार्यालयले सो अवधिमा २ हजार ७५७ वटा सवारीसाधनलाई कारबाही गरेको थियो । 

सबैभन्दा बढी कारबाहीमा मोटरसाइकल 

चालु आ.व.को साउन महिनामा सबैभन्दा बढी ७ सय ८६ वटा मोटरसाइकल कारबाहीमा परेका छन्  र सबैभन्दा कम ट्याक्टर कारबाहीमा परेका छन् । मोटरसाइकल कारबाहीबाट मात्रै ६ लाख ७३ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ भने १३२ वटा ट्याक्टरलाई कारबाहीबाट १ लाख ३१ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ । 

यस्तै दोस्रो सबैभन्दा बढी ६ सय ७२ वटा कार जिप भ्यान कारबाहीमा परेका छन् जसबाट ६ लाख ६० हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । कार्यालयले ५ सय ९० वटा  ट्रक ट्रिपरबाट ६ लाख ११ हजार, ३ सय ७ वटा बस माइक्रोबाट २ लाख ९० हजार र २ सय ७० वटा ट्याम्पो र अन्य सवारीसाधन बाट २ लाख ८ हजार रुपैयाँ राजश्व सङ्कलन भएको हो । 

कार्यालयका प्रमुख थापाले निषेधाज्ञा शुरु भएसँगै कारबाहीको सङ्ख्या र राजश्व सङ्कलन पनि तुलनात्मक रुपमा उक्त महिना कम भएको बताउनुभयो  । ‘निषेधाज्ञाले सवारीसाधन जोरबिजोर प्रणालीमा चलेका छन् उहाँले भन्नुभयो, कारबाही र जरिवाना पनि कम भएको छ ।’ अधिकांश सवारीधनीले जरिवानाको रसिद काटेपछि समयमै बैङ्कमा जम्मा नगर्ने भएकोले राजश्व सङ्कलनमा असर परेको थापाले बताउनु भयो । 

सवारीसाधन कम चले पनि ट्राफिक चेकिङमा कडाई गरिएको कारण राजश्व सङ्कलन सन्तोषजनक भएको थापाको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button