पर्यापर्यटनलाई चलायमान बनाउन सबै क्षेत्र जुट्नु पर्नेमा सरोकारवालाहरूको जोड

कञ्चनपुर । कोरोना महामारीका कारण थलिएको पर्यापर्यटन क्षेत्रलाई चलायमान बनाउन सबै क्षेत्रले लाग्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । कञ्चनपुरमा आज प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यालयले आयोजना गरेको पर्यापर्यटन प्रवर्द्धनका लागि सरोकारवाला निकायहरुसंगको अन्तरक्रियामा सहभागीहरूले पर्यटनसँग सम्बन्धित सबै क्षेत्र,व्यक्ति र निकायले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताएका छन् ।
कोरोनाले पर्यापर्यटन क्षेत्रमा पर्यटकहरू प्राय शून्य भइरहेको अवस्थामा त्यसलाई पुनः चलायमान बनाउन होटल व्यवसाय, पर्यटन व्यवसाय, होमस्टे व्यवसाय, नेचरगाइड, संरक्षणकर्मी र सञ्चारकर्मीहरुले प्रकृतिलाई कुनै प्रभाव नपर्ने गरी पर्यटन गतिविधि गर्ने वातावरण मिलाउनु पर्ने बताएका छन् । सहभागीहरूले लामो समय देखि बन्द रहेको मझगाउ विमानस्थल छिटो सञ्चालन गर्न सके काठमाण्डौमा घुम्न आउने विदेश पर्यटक र आन्तरिक पर्यटकलाई शुक्लाफाँटा निकुञ्जको भ्रमण गराउन सकिने बताउनुभएको छ ।
विश्वकै ठुलो घाँसे मैदा ५४.५ प्रतिशत क्षेत्रफलमा फैलिएको र तराईका सबै निकुञ्जहरूमा पाइने वन्यजन्तु र वनस्पति पाइने शुक्लाफाँटामा प्रचारप्रसार र सहज आवागमन नहुँदा ओझेलमा परेको भन्दै त्यसको प्रचार प्रसार र पहुँच सहज गराउन केन्द्र सरकार ,स्थानीय सरकार र प्रदेश सरकारले समेत ध्यान दिनु पर्ने सहभागी राजेन्द्र चन्दले बताउनुभएको छ ।

निकुञ्ज खुल्ला चिडियाखाना भए पनि सबैले सहजै वन्यजन्तु देख्न नसक्ने भएकाले निकुञ्ज कार्यालयले कुनै निश्चित ठाउँमा मिनी चिडियाखानाको स्थापना गरी घाइते, टुहुरा र मानव बस्तीबाट उद्धार गरिएका वन्यजन्तुहरूलाई राख्न सके स्कुले साना बालबालिका र अन्य आन्तरिक पर्यटनलाई आक्रमण गर्न सकिने सहभागीहरूले बताएका छन् ।
शुक्लाफाँटा निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुर्जा पुनले पछिल्लो समय मानिसहरू कोरोनाका कारण विदेशबाट घर फर्केका र कामको कुनै व्यवस्था नहुँदा निकुञ्जमा चोरी तस्करी गर्ने गरेका कारण गत आर्थिक वर्षमा मुद्दाहरूमा वृद्धि भई अहिले सम्मकै उच्च ४१ वटा पुगेको बताउनु भयो । चोरी तस्करी र वन्यजन्तुको सिकार गर्ने कार्यले पनि पर्यापर्यटन क्षेत्रमा प्रभाव परेकाले यस्तो कार्यको सट्टा पर्यटकीय गतिविधिबाट आय आर्जन तर्न तर्फ लाग्न सबैलाई अनुरोध गर्नु भएको छ ।
प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रममा अधिकृत लक्ष्मीराज जोशीले पर्यापर्यटन प्रकृतिमा आधारित, सामाजिक र संस्कृतिमा आधारित र स्थानीय अर्थतन्त्रमा आधारित हुने भएकाले सबैले सानो लगानीमा सहजै यसबाट फाइदा लिन सक्ने बताएका छन् । साथै उहाँले शुक्लाफाँटामा पर्यटनहरूको सङ्ख्या वृद्धि गर्न सबै क्षेत्रले मिलेर अगाडि बढ्नुपर्ने समेत बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्