सबै प्रदेशबासीलाई कोरोना विरुद्धको खोप लगाउनु पहिलो दायित्व : मुख्यमन्त्री पोखरेल

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको पहिलो दायित्व सबै प्रदेशबासीलाई कोरोना विरुद्धको खोप भएको बताउनुभयो ।
तनहुँको दमौलीमा आज स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले सबै प्रदेशबासीलाई कोरोना विरुद्धको खोप लगाउनु आफ्नो पहिलो दायित्व भएको बताउनुभएको हो ।
गठबन्धन सरकार अस्तित्वमा आएपछि चुनौती रहेको भन्नुहुँदै “कोरोना र बाढी पहिरोका बीच काम सुरु गर्यौ । सरकारको पहिलो दायित्व प्रदेशबासीलाई कोरोना खोप भनेर भन्यौ ।” उहाँले भन्नुभयो –“८ लाख प्रदेशबासीलाई खोप दिइसकेका छौ, ३ लाखलाई दुई डोज र अन्य ५ लाखलाई एक डोज दिएका छौ ।”
जतिसक्दो छिटो खोप दिने भनेर प्रदेश सरकार अगाडि बढेको मुख्यमन्त्री पोखरेलले जानकारी दिनुभयो ।
“हामी अब तेस्रो लहरका कोरोना संक्रमणको लागि तयार हुनुपर्छ ।” मुख्यमन्त्री पोखरेलले भन्नुभयो “बेड र अक्सिजन नपाउने अवस्थामा अब हुँदैन ।”
उहाँले प्रदेशले सिधै खोप किन्न नमिलेका कारण अहिले प्रदेश सरकारले खोप लक्ष्य अनुसार दिन नसकेको जानकारी दिनुभयो ।
उहाँले प्राकृतिक विपत्तिले घरबार विहीन हुने प्रदेशबासीलाई तत्काल १ लाख प्रदेश सरकारले राहत दिने घोषणा केहिदिन अघि गरेको समेत जानकारी दिनुभयो ।
मुख्यमन्त्री पोखरेलले पहिलेको सरकारको योजना अहिलेको वर्तमान सरकारले अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “केही कटौती भए होलान् तर धेरै परेका छन् ।”
जिल्ला समन्वय समिति तनहुँको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद द्वय डोबाटे विश्वकर्मा र सरिता गुरुङको समेत उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र जिल्लामा कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्