तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको चिसापानी लेकमा व्यावसायिक चिया खेती सुरु

पर्वत। महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीस्थित चिसापानीको लेकमा चिया खेती सुरु गरिएको छ । सोही गाउँपालिकाको वडा नं ६ फलाम खानीमा चिया खेतीको सफल उत्पादन हुन थालेपछि लङ्खुदेउरालीमा पनि विस्तार गर्न थालिएको हो । चिसापानी लेकको खाली जमिनमा चियाका बिरुवा रोप्न थालिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुआतको चरणमा अहिले एक हजार बिरुवा रोपिने भएको छ ।

झन्डै एक दशकदेखि चिया खेती सुरुआत गरिएको फलाम खानी र यहाँको हावापानी एकै प्रकृतिको छ । चिसापानी प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थलका रुपमा समेत विकास हुँदै गएको छ । यस वर्ष परीक्षणका रुपमा एक हजार बोट रोप्न थालिएको र बिरुवा हुर्कँदै गए तथा हावापानी मिले आगामी वर्षदेखि थप विस्तार गर्दै जाने उच्चैले जानकारी दिनुभयो । गाउँपालिकाले नियुक्त गरेका स्वयंसेवकलाई नै चियाका बिरुवा रोपणमा खटाइएको छ । उनीहरूले नै फलाम खानीदेखि बिरुवा ल्याएर रोप्न थालेका छन् ।

केही दिनमै बिरुवा रोपेर सकिने उच्चैले बताउनुभयो । फलाम खानीमा यस वर्ष झन्डै १२ हजार चियाका बिरुवा तयार गरिएको थियो । चिसापानी क्षेत्रमा चिया खेती विस्तारका लागि हजारौँ रोपनी क्षेत्रफल खाली भए पनि अहिले परीक्षणका लागि १० रोपनी जग्गामा मात्र बिरुवा रोप्न थालिएको हो । फलाम खानीमा ६० हेक्टर क्षेत्रफलमा चिया खेती गरिएको छ ।

उत्पादित बिरुवामध्ये झन्डै १० हजारको सङ्ख्यामा फलाम खानीकै विभिन्न क्षेत्रमा खेती विस्तार गर्ने योजनासमेत गाउँपालिकाले बनाएको छ । फलाम खानीमा पनि अहिले बिरुवा रोप्ने काम भइरहेको वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिनुभयो । उच्च पहाडी क्षेत्रमा रहेको गाउँपालिकाका सबैजसो वडामा चिया खेतीको सम्भावना छ । गाउँपालिकालाई चिया खेतीबाट आत्मनिर्भर बनाउने उद्देश्यले चिया प्राधिकरण नै बनाएर निजी तथा साझेदारी मा खेती विस्तार गर्नेसमेत गाउँपालिकाको योजना छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button