नेपाल उद्योग परिसंघद्वारा सुझाव पत्र हस्तान्तरण
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले बुधवार अर्थमन्त्री जनार्दन शर्मालाई भेटी आर्थिक क्षेत्रको सुधारको सम्बन्धमा सुझाव पत्र हस्तान्तरण गरेको छ ।
सुझाव पत्रमा सरकारको न्यूनतम साझा कार्यक्रम र अर्थ मन्त्रालयद्वारा सार्वजनिक आर्थिक अवस्थाको जानकारी पत्रमा उल्लेख भएबमोजिम उत्पादनशील अर्थतन्त्रमा रूपान्तरण गर्नको लागि सिएनआईले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’ ले महत्त्वपूर्ण सहयोग पुर्याउने भन्दै विभिन्न ३४ वटा क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औँल्याइएको छ ।
सुझावमा अर्थतन्त्रलाई चलायमान बनाउँदै रोजगारी एवं स्वरोजगारीको वृद्धि गर्न नयाँ एवं विद्यमान साना तथा मझौला उद्योगहरूलाई परियोजना धितोमा पाँच करोडसम्म ऋण उपलब्ध गराउन च्यालेन्ज फन्डको व्यवस्था गरिनुपर्ने, स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि स्वदेशमै उत्पादन हुने वस्तुको आयात निरुत्साहन गर्नुपर्ने साथै स्वदेशमा उत्पादन हुने वस्तुले पालना गर्नुपर्ने मापदण्ड र गुणस्तरका प्रावधान आयात हुने सम्पूर्ण वस्तुमा अनिवार्य लागू गरिनुपर्ने लगायतका विषयहरू समेटिएका छन् ।
सुझाव पत्र ग्रहण गर्दै अर्थमन्त्री शर्माले सिएनआईले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’ को प्रशंसा गर्दै उत्पादनमूलक उद्योग स्थापना र सञ्चालनको लागि सहज हुने गरी नीति निर्माण तथा संशोधन गरिने वचन दिनुभयो ।
कार्यक्रममा सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले हालै जारी मौद्रिक नीति समग्रमा राम्रो रहेको भन्दै सिसिडी रेसियो खारेजीले सृजना गरेको अन्योल चाँडै हटाउन माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्