तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल राष्ट्र बैङ्क र त्रिभुवन विश्वविद्यालयबिच समझदारी

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क र त्रिभुवन विश्वविद्यालय बिच प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने समझदारी भएको छ । 


सझदारीपत्रमा बैङ्कका तर्फबाट जनशक्ति व्यवस्थापन विभागका का.मु.कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामजी गौतमले हस्ताक्षर गर्नुभयो । 
समझदारी अनुसार अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँच–पाँच जना, एफफिल र विद्यावारिधितर्फका दुई–दुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्ने प्रयोजनका निम्ति नेपाल राष्ट्र बैङ्कले वार्षिक रूपमा शोध वृत्ति (फेलोसिप) उपलब्ध गराउनेछ । 


साथै, बैङ्कमा उपलब्ध हुने इन्टर्नसिपको अवसरमा विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई प्राथमिकता दिइने समझदारीसमेत भएको छ । 


सो अवसरमा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क र विश्वविद्यालयबीचको समझदारी आफैमा सकारात्मक सुरुआत रहेको उल्लेख गर्दै यो सहकार्यले प्राज्ञिक शोध तथा अनुसन्धानमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो । 


कार्यक्रममा अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा.अधिकारीले समझदारीसँगै विश्वविद्यालयको अनुसन्धान कार्यको गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button