साफ च्याम्पियनसिप असोज १५ गतेदेखि हुने

काठमाडौँ । आयोजक समेत रहेको साबिक विजेता माल्दिभ्ससँग खेल्दै नेपालले यस पटकको साफ च्याम्पियनसिपको सुरुवात गर्ने भएको छ । ५ राष्ट्रको सहभागिता रहने साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्समा सुरु हुँदैछ ।
सन् २०१८ मा बङ्गलादेशमा भएको पछिल्लो साफको सेमिफाइनलपछि नेपाल र माल्दिभ्सबीच पहिलो पटक भेट हुनेछ । त्यति बेला नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित भएको थियो । यस पटक माल्दिभ्ससँग खेल्दै नेपालले साफको सुरुवात गर्नेछ ।
माल्दिभ्समा हुने च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध असोज १७ गते खेल्नेछ । त्यस्तै तेस्रो खेल नेपाली टोली साफको सर्वाधिक सफल टोली भारतसँग असोज २२ गते खेल्नेछ ।
असोज २४ गते नेपाल र बङ्गलादेशबिच प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविन लिगको शीर्ष २ टोलीले असोज २७ गते उपाधिका लागि फाइनल खेल्नेछन् ।
नेपाल टोलीले अहिलेसम्म साफको सेमिफाइनल पार गर्न सकेको छैन । यति बेला नेपाली टोली साफ च्याम्पियनसिपको तयारीका क्रममा पोखरामा प्रशिक्षण गरिरहेको छ ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीबाट सोमबार मात्र तेस्रो चरणको छनोटमा २८ खेलाडी छनोट गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्