पूर्वाञ्चल क्यान्सर अस्पतालमा ‘फ्रि फ्लाप रिकन्स्ट्रक्सन सर्जरी’ सेवा शुरु

भद्रपुर, झापा । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले शल्यक्रियापछि अनुहारलाई दुरुस्त बनाउने ‘फ्रि फ्लाप रिकन्स्ट्रक्सन सर्जरी’ सेवा शुरु गरेको छ ।
स्वदेशमै क्यान्सरको पूर्ण उपचार सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि फ्लाप रिकन्स्ट्रक्सन सर्जरी’का लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा अनुभवी जनशक्ति र उपकरण उपलब्ध भइसकेको अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले बताउनुभयो ।
उहाँका अनुसार नाक, कान र घाँटीमा क्यान्सर संक्रमण हुँदा शल्यक्रिया गरेर अनुहारको बाहिरी र भित्री भागमा पलाएको मासु फालिएपछि पुरानै स्वरूपमा अनुहारलाई ल्याउन ‘फ्रि फ्लाप रिकन्स्ट्रक्सन सर्जरी’ गरिन्छ ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वर्षसम्म नाक, कान र घाँटीको क्यान्सरको शल्यक्रिया गर्दै आएका अंकोसर्जन डा. बजरंग साह हाल पूर्वाञ्चल क्यान्सर अस्पतालमा सो सम्बन्धी विभागीय प्रमुखमा नियुक्त हुनुभएको छ । उहाँले नै ‘फ्रि फ्लाप रिकन्स्ट्रक्सन सर्जरी’ गर्नुहुनेछ ।
नेपालमा अरूतिर ‘फ्रि फ्लाप रिकन्स्ट्रक्सन सर्जरी’ सेवा उपलब्ध नभएको जनाउँदै डा. साहले शरीरको अरू भागबाट मासु ल्याएर अनुहारमा जोड्ने शल्यक्रियालाई नै ‘फ्रि फ्लाप’ भनेर चिनिने बताउन भयो ।
भारतमा ‘फ्रि फ्लाप’ गर्न रु. २० देखि २५ लाख खर्च लाग्ने भए पनि पूर्वाञ्चल क्यान्सर अस्पतालमा सोही उपचार तीन लाख रुपैयाँसम्ममा हुने अस्पतालका मेडिकल डाइरेक्टर डा. यादवले बताउनुभयो । ‘फ्रि फ्लाप’–का लागि अब विदेश धाउनु नपर्ने उहाँको भनाइ छ ।
पूर्वाञ्चल क्यान्सर अस्पतालले दुई वर्षमा २२ हजार ५३० जना क्यान्सरका बिरामीको उपचार गरेको र त्यसमध्ये ७०० जनाको शल्यक्रिया गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा अहिलेसम्ममा तीन हजार ५०० जनाको बायोप्सी जाँच गरिएको, दुई हजार ८१० जनाको केमोथेरापी गरिएको, ९५३ जनाको रेडियोथेरापी गरिएको र १४० जनाको ब्रेकी थेरापी गरिएको छ ।
अस्पतालले क्यान्सरको पूर्ण उपचारको सेवा दिने गरी डा. मुक्ति देवकोटाको नेतृत्वमा सर्जिकल अंकोलोजी, डा. बजरंग साहको नेतृत्वमा रिकन्स्ट्रक्सन सर्जरी र डा. वीरेन्द्र यादवको नेतृत्वमा रेडियोलोजी विभाग गठन गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्