तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक भएन गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सहित मन्त्रीहरूले अझै पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । सार्वजनिक पदधारण गरेको व्यक्तिले पद बहाल गरेको ६० दिन भित्र आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ तर ६० दिन कटिसक्दा पनि मन्त्रीहरूको सम्पत्ति सार्वजनिक नभएको हो ।

भ्रष्टाचार निवारण ऐनको दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले पदमा बहाल रहेको मितिले ६० दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । तर प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले उक्त नियमको उल्लङ्घन गरेका छन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले पदमा बहाल रहेको मितिले ६० दिनभित्र त्यसपछि हरेक आर्थिक वर्ष सकिएको ६० दिनभित्र आफ्नो र परिवारका सदस्यको नाममा रहेको सम्पत्ति सार्वजनिक गर्नुपर्ने हुन्छ भने त्यो सम्पत्तिको स्रोत समेत खुलाउनुपर्ने हुन्छ । 

सार्वजनिक पदधारण गरेको व्यक्तिले तोकिएको समयमा सम्पत्ति विवरण पेस गर्न नसकेमा नसक्नुको करण खुलाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । तर उक्त नियम अनुसार मुख्यमन्त्री तथा मन्त्रीले सम्पत्ति भने अझै सार्वजनिक गरेका छैनन् ।

जेठ २९ गते मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त हुनुभएको थियो भने कुमार खड्का, मधुमाया अधिकारी, हरिशरण आचार्य र दीपक मनाङे भनिने राजीव गुरुङ मन्त्रीमा नियुक्त हुनुभएको थियो । ६० दिन कटिसक्दा पनि उहाँहरूको सम्पत्ति सार्वजनिक भएको छैन । ११ सदस्यीय मन्त्रिपरिषदमा बाँकी ६ जना मन्त्री भने साउन ८ गते नियुक्त हुनुभएको थियो । उहाँहरूको भने समयावधि बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button