काभ्रेमा कोरोनाबाट चार महिनामा १३७ को मृत्यु, दश हजार सङ्क्रमित

काभ्रेपलाञ्चोक। कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा सङ्क्रमण देखिएको तथ्याङ्कले देखाएको छ ।
गत साल कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ सङ्क्रमितको मृत्यु भएको थियो । उक्त अवधिका तीन हजार ४५० मा सङ्क्रमण पुष्टि भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)को तथ्याङ्कमा उल्लेख छ । गत असार महिनामा नगन्य मात्रामा कोरोना सङ्क्रमणबाट मृत्युको घटना भए पनि साउनमा मृत्युदर बढेको थियो ।
हालसम्म जिल्लाका १३ हजार ६६५ मा सङ्क्रमण देखिएकामा १८२ को मृत्यु भएको छ । यसमध्ये करिब साढे तीन हजार गत सालका सङ्क्रमित हुन् भने १० हजारभन्दा बढी सङ्क्रमणको दोस्रो लहर सुरु भएयताका हुन् । हालसम्मका कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात् १२ हजार ९४० सङ्क्रमणमुक्त भइसकेका छन् । पछिल्लो केही हप्तादेखि सङ्क्रमण र मृत्युदर बढ्न थालेपछि गत साउन २५ गतेदेखि यही भदौ ३ गतेसम्म निषेधाज्ञामा थप कडाइ गरिएको छ ।
हाल दैनिक सङ्क्रमण दर ५० देखि १०० को हाराहारीमा रहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । पहिलो पटक विसं २०७७ जेठ १ गते जिल्लाको धुलिखेल अस्पतालमा उपचारार्थ सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट कारण मृत्यु भएको थियो । नेपालमा यो पहिलो घटना हो ।
कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा सङ्क्रमण जिल्लास्थित समुदायमा फैलिएका कारण धेरै सङ्ख्यामा सङ्क्रमण र मृत्यु भएको केन्द्रले जनायो । “सङ्क्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले भन्नुभयो । उहाँका अनुसार यसपालिको सङ्क्रमणदारको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट टे«ेसिङ’मा ढिलाइ हुँदा सङ्क्रमण बढेको अनुमान गरिएको छ ।
सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । सङ्क्रमण दर बढ्दै गएपछि जेठको विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र ‘सिल’समेत गर्नुपरेको थियो । पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेशनलाई आवश्यक अक्सिजनसहित पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ । केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले स्थानीय तहमा रहेका आइसोलेशन अक्सिजनसहित पुनः सञ्चालनमा ल्याउन निर्देशन दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमण दर दैनिक बढ्न थालेपछि स्थानीय तहका आइसोलेशन अक्सिजन सुविधासहित पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएका छौँ ।” उहाँका अनुसार सङ्क्रमण उच्च रहेका केही स्थानीय तहमा भने आइसोलेशन सञ्चालनरत रहेका छन् ।
आगामी केही महिनामा सङ्क्रमण दर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएपछि पनौती नगरले बालबालिकाको लागि गत असारमै आइसोलेशन निर्माण गरेको छ । नगरले ४ नम्बर वडा कार्यालयमा हाललाई ३० शय्याको अक्सिजनसहितको आइसोलेशन बनाएको हो । स्थानीय रोटरी नेपालसँगको सहकार्यमा सम्भावित दुर्घटनाबाट बालबालिकालाई जोगाउन अहिल्यै पूर्वतयारीस्वरुप आइसोलेशन बनाइएको नगरप्रमुख भीमप्रसाद न्यौपानेले बताउनुभयो । नगरले कोरोनाको दोस्रो लहर सुरु भएपछि वैशाख अन्तिम साता २५ शय्याको अक्सिजनसहितको आइसोलेशन व्यवस्थित गरेको थियो ।
केन्द्रले गत जेठ अन्तिम साता आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमण दर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएअनुसार जिल्लास्थित अस्पताललाई २०५ शय्या छुट्टाउन लगाउने निर्णयसमेत गरेको थियो । धुलिखेल अस्पतालले बालबालिकाको लागि १०० शय्या व्यवस्थापन गर्ने सम्झौता भइसकेको प्रजिअ पोखरेलले बताउनुभयो ।
धुलिखेल, मेथिनकोट, बनेपास्थित शिर मेमोरियल र भोमी अस्पताललगायतलाई प्रारम्भिक चरणमा २०५ शय्या छुट्टाउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा झाले बताउनुभयो । उहाँका अनुसार प्रक्षेपणअनुसार बालबालिकामा सङ्क्रमण फैलिए स्थानीय तहलाई समेत बालबालिकाका लागि छुट्टै अक्सिजनसहितको आइसोलेशन कक्ष निर्माण गर्न लगाइनेछ । “प्रक्षेपित तेस्रो लहरले कस्तो क्षति पु¥याउँछ सोहीअनुसार व्यवस्थापनमा लाग्न तयारी अवस्थामै छौँ”, उहाँले भन्नुभयो ।
यसैबिच जिल्लामा हाल ५४४ सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा १२४९, धुलिखेलमा १३७, पनौतीमा ५९, पाँचखालमा ६३, नमोबद्धमा ७४, मण्डनदेउपुरमा ३४ तथा रोशी गाउँपालिकामा दुई, चौँरीदेउरालीमा दुई, तेमालमा चार, भुम्लुमा चार, खानी खोलामा एक, बेथानचोकमा ११ र महाभारत गाउँपालिकामा चार सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो ।








प्रतिक्रिया राख्नुहोस्