तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् खपत बढाउन फरक फरक महशुल दर लागू गरिने

काठमाडौँ । सरकारले मुलुकभित्रै खपत बढाउन फरक–फरक विद्युत् उपभोक्ता महशुल लागू गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणको ३६ औँ वार्षिकोत्सवको अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसालले आगामी दिनमा वर्षायामको विद्युत् खेर जान सक्ने अवस्थालाई मध्यनजर गरी आन्तरिक खपत बढाउने कार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने बताउनुभयो ।

प्राधिकरण सञ्चालक समिति अध्यक्षसमेत रहनु भएकी भुसालले भन्नुभयो ‘आन्तरिक खपत बढाउन यसलाई मध्यनजर गरी वर्षायाम र सुख्खा यामको लागि फरक फरक विद्युत् महशुल निर्धारण गर्ने र धेरै विद्युत् खपत गर्ने ग्राहकलाई महशुलमा सुविधा दिने निर्णय भइसकेको छ, साथै आन्तरिक खपत पश्चात् बढी भएको विद्युत् छिमेकी देशहरूमा निर्यात गर्ने प्रबन्ध मिलाउन जरुरी छ,  ।’

अबको २ वर्षमा देशलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्यलाई सकेसम्म समय अगावै सम्पन्न गर्न कार्य योजनासहित लाग्न प्राधिकरणलाई निर्देशन दिँदै भुसालले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने योजनालाई सहयोग गर्न आग्रह गर्नुभयो ।

‘यसबाट ग्यास खरिद बापत विदेशिने पुँजी नेपालमै बस्छ भने अर्कातिर ग्राहकले सस्तोमा विद्युतको उपभोग गर्न पाउँछन् भने खपत बढ्ने र निकट भविष्यमा खेर जान सक्ने विद्युतको उपयोग हुनेछ र प्राधिकरणको आम्दानी समेत बढ्ने छ’,उहाँले उल्लेख गर्नुभयो । ‘ नहर तथा कुलोबाट सिचाई हुन नसक्ने कृषियोग्य जमिनमा सिचाई फिडर जडान गर्दै कृषि विद्युतीकरण गर्ने र सिचाइमा प्रयोग हुने विद्युत् सहुलियत दरमा उपलब्ध गराउने मेरो प्राथमिकता रहेको छ ।’

‘नेपालको पानी जनताको लगानी’  कार्यक्रम अन्तर्गत जनताको लगानीमा अपर अरुण १ हजार ६० मेगावाट, चैनपुर सेती ४१० मेगावाट, तामाकोशी पाँचौँ १०० मेगावाटको आयोजनाको निर्माणलाई अघि बढाउने साथै कर्मचारीहरूको लगानीमा अपर मोदी ६० मेगावाटको आयोजनालाई निर्माणमा लगिने मन्त्री भुसालले बताउनुभयो । उहाँले बुटवल–गोरखपुर, केरुङ (चीन)–रातमाटे जस्ता अन्तर्देशीय र पूर्व–पश्चिम, उत्तर–दक्षिण जोड्ने ४०० केभीका प्रसारण लाइनहरूको निर्माण गरी उत्पादित विद्युत् खेर नजाने साथै छिमेकी देशहरूमा समेत विद्युत् व्यापारको ढोका खोल्ने कार्य गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्राधिकरणले ग्राहकहरूलाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन धेरै मेहनत गर्नु पर्ने बताउँदै उहाँले गुनासोको तत्काल सम्बोधन गर्ने संयन्त्र बनाउने, वितरण संरचनाको स्तरोन्नति एवं विस्तार गर्ने, प्रविधिको प्रयोग गर्दै स्वचालितमा जाने, स्मार्ट मिटर जडान कार्यलाई देशभर विस्तार गर्ने कार्यलाई तीव्रताका साथ अघि बढाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत एवं सिँचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट पाठ सिक्दै १ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको निर्माण तत्काल अगाडि बढाउनु पर्ने बताउनुभयो । 

प्रसारण तथा वितरण संरचनाको अभावमा उद्योगहरूलाई माग अनुसारको विद्युत् उपलब्ध गराउन नसकेको उल्लेख गर्दै कार्कीले विद्युत् खपत बढाउने कार्ययोजना कार्यान्वयनमा केन्द्रित हुन प्राधिकरणलाई निर्देशन दिनुभयो ।

विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले  चुहावट नियन्त्रण, सुशासन कायम गर्न, विद्युत् खपत बढाउन, अर्ध जलाशययुक्त तथा जलाशययुक्त ठुला आयोजना निर्माणको नेतृत्व गर्न प्राधिकरणलाई निर्देशन दिनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापनमा स्वचालित प्रणालीको प्रयोगमार्फत सञ्चालन लागत घटाई ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गरिने बताउनुभयो । विद्युत् माग र खपत वृद्धिसँगै वितरण प्रणालीको समेत विस्तार र सुदृढीकरण गर्नुपर्ने भएकोको उल्लेख गर्दै घिसिङले यस्ता कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइने जानकारी दिनुभयो । ‘माथिल्लो तामाकोसी जलविद्युत आयोजनालगायतका आयोजनाहरूबाट उत्पादित विद्युत् बिक्रीको लागि बजार व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको छ, उत्पादित विद्युतको स्वदेशमा नै खपत गर्न तथा बढी भएको विद्युत् अन्तर्देशीय बजारमा बिक्री गर्न आवश्यक प्रबन्ध मिलाइने छ’,उहाँले भन्नुभयो ।

‘स्वदेशमै विद्युत् खपत वृद्धि गर्न सके उत्पादित विद्युतको उपयोग मात्र हुने नभै देशको आर्थिक र सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पर्छ, त्यसैले विद्युत् खपत वृद्धिको पूर्वाधार निर्माण, ग्रामीण विद्युतीकरण, कृषि, सिँचाइ र औद्योगिक वर्गका ग्राहकको महशुलमा पुनरावलोकन, विद्युतीय सवारी साधनको प्रयोग र विद्युतीय चुलोको उपयोग गर्न र तदनुरूप जनचेतना अभिवृद्धि गर्ने समेतका कार्यहरू प्रभावकारी रुपमा सञ्चालन गरिने छ ।’

संस्थागत सुशासन, पारदर्शिता र जबाफदेहिता कायम गर्दै उपभोक्ताहरूलाई उत्कृष्ट रुपमा सेवा प्रदान गर्ने लक्ष्यसहित सुदृढ र सबल प्राधिकरणको निर्माण गर्न सम्पूर्ण प्रयासहरू केन्द्रित गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्यान)का अध्यक्ष कृष्ण आचार्यले विद्युत् खपत बढाउने बृहत् कार्यक्रममा कार्यान्वयन गर्न, प्रसारण लाइनको निर्माणलाई तीव्रता दिन सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button