जिल्ला प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन

अछाम । अछाम जिल्लामा जिल्ला प्रशासन कार्यालयबाटै फोटो सहितको मतदाता नामावली सङ्कलन तथा दर्ता शुरु भएको छ ।
भाद्र १ गते आज देखि जिल्ला निर्वाचन कार्यालयको सहकार्यमा जिल्ला प्रशासन कार्यालयबाट पनि फोटो सहितको मतदाता नामावली सङ्कलन तथा दर्ता कार्य सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
यसअघि जिल्ला निर्वाचन कार्यालय अछामबाट नियमित रुपमा मतदाता नामावली सङ्कलन र दर्ता भइरहेकोमा सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाटै थप केन्द्र स्थापना गरी मतदाता नामावली सङ्कलन तथा दर्ता कार्य सुरु गरिएको प्रशासनले जनाएको छ ।
उहाँका अनुसार नागरिकता र राष्ट्रिय परिचय पत्र बनाउन आउने नागरिकले अब सोही दिन फोटो सहितको मतदाता नामावली पनि दर्ता गर्न सक्नेछन् ।

फरक फरक ठाउँमा हुँदा सेवाग्राहीलाई असहज र कहिलेकाहीँ छुट्ने भएकाले पनि नागरिकता वितरण, राष्ट्रिय परिचय पत्र र मतदाता नामावलीको काम एकैसाथ एकै स्थानबाट सुरु गरिएको अधिकारी तिमिल्सिनाको भनाई छ ।
जिल्ला निर्वाचन कार्यालय अछामका प्रमुख गजेन्द्र प्रकाश थारुका अनुसार निर्वाचन कार्यालयमा नियमित रुपमा मतदाता सम्बन्धी सबै काम भइरहेकोमा जिल्ला प्रशासनमा थप केन्द्र स्थापना गरी सेवा सुरु गरिएको हो । मतदाता नामावलीमा केही गल्ती, त्रुटि भए हाल अद्यावधिक गर्ने काम समेत भइरहेको प्रमुख थारुले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्