१० हजार जनाको पाठेघर क्यान्सरको निःशुल्क जाँच गरिने

भद्रपुर, झापा । झापाको सुविधा सम्पन्न पूर्वाञ्चल क्यान्सर अस्पतालले १० हजार जना महिलाको पाठेघरको क्यान्सर निःशुल्क रुपमा जाँच गर्ने घोषणा गरेको छ ।
अस्पतालले मङ्गलवार आयोजना गरेको संक्षिप्त पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी प्रमुख डा. नीराजन प्रसाईँले उक्त घोषणा गर्नुभएको हो ।
महिलाको पाठेघर सम्बन्धी क्यान्सर रोगी धेरै पाइएका कारण जनचेतना जगाउन अस्पतालले यो अभियान शुरु गरेको उहाँले बताउनुभयो ।
झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लामा स्वास्थ्य शिविरको आयोजना गरी महिलाको पाठेघरको क्यान्सर निःशुल्क जाँच गर्ने र क्यान्सर पुष्टि भएका हरेक बिरामीको उपचारमा रु. एक लाखको उपचार सहयोग गर्ने समेत अस्पतालले जनाएको छ ।
भदौ ६ गतेदेखि अस्पतालमा निःशुल्क ओपिडी सेवा प्रदान गरिने र एक हजार विपन्न परिवारको स्वास्थ्य बिमासमेत अस्पतालका तर्फबाट गरिने डा. प्रसाईँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्