तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटक तान्न दुम्सीचौरमा दुम्सीको मूर्ति निर्माण

तनहुँ ।तनहुँको व्यास नगरपालिका १० स्थित दुम्सी चौरमा पर्यटकलाई आकर्षण गर्न दुम्सीको मूर्ति निर्माण गरिएको छ । दुम्सीचौरको पहिचान र वडाले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागेको देवी डाँडाको प्रचारका लागी प्रवेश द्धारमा दुम्सीको दुई वटा मूर्ति निर्माण गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।

भ्यू टावर सहित देवीडाडाँमा पार्क निर्माण थालनी गरेको वडाले पाँच सय मिटर वर दुम्सीको प्रतिमा निर्माण गरेपछि आन्तरिक पर्यटकहरू दुम्सी चौर पुग्न थालेका छन् । वडा कार्यालयको ३ लाख बजेट र स्थानीयको श्रमदानबाट निर्माण भएको दुम्सीको मूर्तिमा सेल्फी लिन, टिकटक बनाउन र फोटो खिच्नकै लागी पर्यटकहरू जान थालेका हुन् ।

निर्माणाधीन रहेको उक्त स्थानमा विद्युतीय बत्ती, दुवो र टायल बिछ्याएर आकर्षित बनाउन अझै बाँकी छ । दुम्सीको माउ र बच्चाको प्रतिमा निर्माण स्थलमा जानेहरूलाई प्रवेश निःशुल्क गरिएको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो । देवी डाँडामा पर्यटक आकर्षण गर्न दुम्सीको माउ बच्चाको मूर्तिले टेवा पु¥याउने वडाले विश्वास लिएको छ ।

दमौलीबाट झन्डै ६ किलोमिटरको दुरीमा रहेको देवी डाँडामा विस्तृत गुरुयोजना अनुसार १ करोड ८४ लाख लागतमा पर्यटकलाई आकर्षित गर्ने पार्क सहितको संरचना निर्माण गरिनेछ । पहिलो चरणमा भ्यू टावर सहित पर्यटकलाई बस्न मिल्ने संरचना निर्माण भएको वडाध्यक्ष सापकोटाले बताउनुभयो ।

दुम्सीचौरको सबैभन्दा अग्लो स्थान देवी डाँडाको नजिकै गोही आकारको डुङ्गालाई पनि थप प्रचार गर्ने वडाको लक्ष्य छ । यो डाँडाबाट तनहुँका प्रमुख पर्यटकीय क्षेत्रहरू मानहुँकोट, तनहुँसुर दरबार, मिर्लुङकोट, छिम्केवरी, श्याम्घाको गलेखामकोटसँगै विभिन्न हिमाली दृश्य र दमौली बजार, कलेस्ती, फराकचौर, गजौडे लगायतका उपत्यका फाँटहरूको दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button