तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ गन्तव्य खोज्दै अन्नपूर्ण गाउँपालिका

म्याग्दी। पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्ध गल्छी–तातोपानी–घार–शिख–घोडे पानी–पुनहिल खण्डसडकले विस्थापित र छोटिएको छ । सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीय स्थल पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

“कोभिडपछिको पर्यटनका लागि भर्जिन गन्तव्य पहिचान गरेका छौँ”, उहाँले भन्नुभयो, “नयाँ गन्तव्यमा पूर्वाधार निर्माणसँगै प्रवर्द्धनमा जोड दिएका छौँ ।” अन्नपूर्ण आधार शिविर जोड्ने “मौरिज हर्गोज”, खयर–खोपारा, नारच्याङ र महभिर झरना, जलजले–फगाम–मोतिचौर बराह–धवलागिरि आधार शिविर, करबाकेली, बयली, मोहरेडाडा, प्यारीबाराही, कालीबराह ताल, फूलबारी, गुराँस पार्क, मुन्द्रा चढाउने डाँडा, नागी, टिकोट, पाउद्धार, सेकार्कु, रातोपानी कुण्ड अन्नपूर्णका नयाँ पहिचान भएका गन्तव्य हुन् । संसारकै गहिरो अन्ध गल्छी, रुप्से झरना, भुरुङ–तातोपानी, घोडे पानी, पुनहिल, अन्नपूर्ण–धवलागिरि पर्यावरणीय सामुदायिक पदमार्ग अन्नपूर्णका स्थापित पर्यटकीय गन्तव्य हुन् ।

सामुदायिक लजको क्षमता विस्तार

प्राकृतिक दृश्यावलोकन गर्न सकिने अन्नपूर्ण गाउँपालिकाको मोहरेडाँडा र खोपारामा रहेको सामुदायिक लजको क्षमता बढाइएको छ । अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्ने दुई ठाउँमा २०/२० जना क्षमताको लज थिए । पाहुनाको चाप बढेपछि मोहर डाँडामा गाउँपालिका र पर्यटन मन्त्रालयले रु एक करोड ५० लाख लगानीमा तीन वटा र खोपारामा गण्डकी प्रदेश सरकारको रु २० लाख लगानीमा एक आठ कोठे आश्रय स्थल भवन निर्माण भएको छ ।

क्षमता विस्तार र सुविधा थपेर सामुदायिक लजको स्तरोन्नति भएपछि मानव बस्तीदेखि टाढा रहेको मोहर डाँडामा पर्यटकले बास नपाएर दुःख पाउने समस्या हटेको मोहर डाँडाको सामुदायिक लजका कर्मचारी नगेन्द्र गर्बुजाले बताउनुभयो ।

मौरिज हर्गोज पदमार्ग सञ्चालन

अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलो मानव पाइला पारेका फ्रान्सका मौरिज हर्गोजको नाममा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग सञ्चालन भएको छ । मौरिजको नामबाट नामाकरण भएको यस पदमार्गमा पर्यटन मन्त्रालयले रु दुई करोडभन्दा बढी लगानीमा गत आर्थिक वर्षमा पदमार्ग बनाएको छ ।

पदमार्ग खुलेपछि आरोही र पर्यटकका खाद्यान्न, बन्दोबस्तीका सामान भरियाले लैजान थालेका छन् । यसअघि हेलिकोप्टर चार्टर गरेर लैजानु पर्दथ्यो । आधारभूत स्तरको पदमार्ग, खोलामा पुल, बस्नका लागि आश्रय स्थल र नक्सा तयार पारिएको नारच्याङ–अन्नपूर्ण आधार शिविर जोड्ने मौरिज हर्गोज पदमार्गको प्रचारप्रसारका लागि गत वर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव सञ्चालन भएको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो ।

गुराँस पार्क स्थापना

राष्ट्रिय फुल गुराँसको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले अन्नपूर्ण गाउँपालिका–७ फूलबारीमा गुराँस पार्क (उद्यान) स्थापना गरेको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ मा पर्ने बयली, घोडे पानी, फूलबारी, मोहरेडाँडा क्षेत्रमा गण्डकी प्रदेशमै ठूलो लालीगुराँसको जङ्गल भएको दाबी गरिएको छ ।

डिभिजन वन कार्यालय म्याग्दीको रु १० लाख अनुदान सहयोगमा नेसरानी सामुदायिक वन उपभोक्ता समूहले २० रोपनी पाखो सम्याएर घेराबार गरी नेपालमा पाइनै सबै ३१ प्रजातिका गुराँसको बगैँचा र सूचना केन्द्रका लागि परम्परागत शैलीको गोलघर र सार्वजनिक शौचालय निर्माण गरी पार्क बनाएका हुन् । समूहका अध्यक्ष लालबहादुर गर्बुजाले गुराँसको अध्ययन तथा सूचना केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको पार्कबाट पृष्ठभूमिमा हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिने बताउनुभयो ।

साइकल र घोडा मार्ग

अन्नपूर्ण–६ मा पर्ने घोडेपानीदेखि वडा नं ७ को प्यारीबाराही ताल जोड्ने साइकल, पोन्नी ‘ट्रेल’ (घोडा मार्ग) निर्माण भएको छ । उपभोक्ता समितिका अध्यक्ष सुशील पुनले प्रदेश सरकारको रु २० लाख सहयोगमा गत आर्थिक वर्षमा फरक–फरक ठाउँमा डेढ मिटर फराकिलो तीन/तीन किलोमिटरको साइकल र घोडा मार्ग निर्माण गरेको जानकारी दिनुभयो ।

“मार्गको कालीसारमा चरा अवलोकन स्थल र भालखारामा पर्यटक चढ्ने घोडा बाँध्ने तबेला निर्माण भएको छ”, उहाँले भन्नुभयो, “घोडेपानीबाट पर्यटकहरू घोडा र साइकल दुवै चढेर प्यारीबाराही ताल जान तथा आउन सक्छन् ।” जङ्गलको बिचमा करिब २०० मिटर लम्बाइ र १०० मिटर चौडाइमा गोलो आकारमा फैलिएको हिमालको छायाँ देखिने तालमा जनै पूर्णिमा पर्वमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।

घोडे पानी–पुनहिलमा पूर्वाधार थपियो

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका १०० वटा स्थापित पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको घोडे पानी–पुनहिल क्षेत्रमा निजी क्षेत्र, समुदाय र सरकारी तवर वाट करोडौँका पूर्वाधार निर्माण भएका छन् । चित्रे हुँदै घोडे पानी जोड्ने चार किलोमिटर सडक ग्राभेल भएको छ । पोखरेबगरबाट चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्रे गर्न रु २७ करोडको आयोजना सञ्चालन गरेको छ ।

घोडे पानी र त्यहाँदेखि दृश्यावलोकन स्थल पुनहिल जाने पदमार्गमा २३ वटा सोलार बत्ती जडान गरेर रातको समयमा उज्यालो बनाइएको छ । पानी र हिउँ परेको अवस्थामा सुरक्षित रूपमा बसेर दृश्यावलोकन गर्ने सुविधाका लागि पुनहिल परिसरमा तीन कोठे आश्रय स्थलको पक्की भवन निर्माण भएको छ । घोडेपानीको मगर सङ्ग्रहालयको पक्की भवन निर्माण भएको छ ।

पुनहिल हुँदै मोहरे, घोडेपानीबाट चित्रे, खिवाङ र घान्दु्रकतर्फ जाने करिब दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । घोडेपानीका व्यवसायीले सहर बजारमा जस्तै पक्की घर र होटेललाई सुविधायुक्त बनाउने प्रतिस्पर्धा चलेको छ । छ वर्षअघि घोडेपानीका होटेलको क्षमता दैनिक ५०० जनाको हाराहारीमा थियो । होटेलको क्षमता बढाएर एक हजार जनाभन्दा बढी पु¥याएको होटेल व्यवस्थापन उपसमितिका उपाध्यक्ष मीना पुनले बताउनुभयो ।

नयाँ पदमार्गमा पूर्वाधार

पाउद्धार पर्यटन सहकारी संस्थामार्फत काली गण्डकी नदी किनारमा रहेको पाउद्धार तातोपानी कुण्डबाट भालखरा, खोपारा, खयरताल, खोपारा, लरेनी हुँदै पाउद्धार जोड्ने पाँच दिनको पदमार्गको अध्ययन र आधारभूत पूर्वाधार निर्माण सुरु भएको छ ।

पर्यटनको लाभ समुदायमा पु¥याउन नेपालमै पहिलो पटक नयाँ अवधारणामा खोपारामा ४० जना क्षमताको होटेल सञ्चालन गरेको छ । गाउँपालिकाले विनियोजन गरेको रु २० लाख बजेटबाट गत आर्थिक वर्षमा खोपारा, खयर, ढाड खर्क, किन्दु क्षेत्रमा पदमार्ग निर्माण भएको वडाध्यक्ष राजेश तिलिजाले बताउनुभयो ।

रघुगङ्गा गाउँपालिकास्थित धवलागिरि हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेर गत आवमा रु १० लाख बजेटबाट जलथलेबाट फगामसम्म एक किलोमिटर ५०० मिटर पदमार्ग निर्माण भएको छ । दानाका बासिन्दाले भेडाबाख्रा र गाईभँैसीको गोठ लेक–बेँसी गराउन प्रयोग गरेको परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रूपान्तरण गर्न लागिएको हो ।

पदमार्गमा पर्ने धार्मिक स्थल मोतिचौर बराहमा गाउँपालिका र समुदायको रु २० लाख लगानीमा १०८ धारा निर्माण भएको छ । भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाइ लम्ब्याउन मान्द्रे ढुङ्गा हुँदै बराह गुफाबाट तीन हजार ४०० मिटर उचाइमा अवस्थित मुन्द्रा चढाउने डाँडासम्म जोड्ने पदमार्ग निर्माण भएको छ ।

वडाध्यक्ष ओमप्रकाश फगामीले आव २०७७/७८ मा गाउँपालिकाले विनियोजन गरेको रु १० लाख बजेटबाट दुई किलोमिटर ५०० मिटर पदमार्ग निर्माण भएको जानकारी दिनुभयो । प्राकृतिक उपचार र पर्यटकीय स्थलका रूपमा विकास गर्न पोखरेबगरको रातोपानी, पाउद्धार र भुरुङको तातोपानी कुण्डमा स्नान स्थल, नदी नियन्त्रण, पोखरी र टहरा निर्माण गरेको छ ।

गत आवमा रु १७ लाख ७४ हजार लगानीमा रातोपानी कुण्डको काली गण्डकी किनारमा पक्की पर्खाल र शरीर डुबाएर स्नान गर्न सकिने पोखरी बनाएर ट्रस पाइप राखेर जस्ताले छाइएको छ । गाउँपालिकाका इन्जिनियर ईश्वर भण्डारीले पाउद्धार–तातोपानी कुण्डमा रु १४ लाख ६८ हजारमा दुई वटा पोखरी, भित्तामा टायल राख्ने र ट्रसले छाएको टहरा निर्माण भएको जानकारी दिनुभयो ।

पाउद्धार–तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समितिले थप नयाँ टहरा, सानो पोखरी, विश्राम स्थल, शौचालय र पोखरीको भुइँमा ढुङ्गा बिछ्याएको छ । दोवाको सेकार्कु तातोपानी कुण्ड संरक्षण र त्यहाँसम्म पुग्ने सडक तथा पदमार्ग निर्माण भएको छ । गत आवमा गाउँपालिकाको रु पाँच लाख सहयोगमा भुरुङ–तातोपानी कुण्डमा स्नान स्थल, तातोपानीको मुहान संरक्षण र पोखरी परिसरमा घेराबारलाई व्यवस्थित गरिएको छ । नयाँ पर्यटकीय गन्तव्य स्थलका रूपमा परिचित नारच्याङ झरनाको फेदीसम्म पुग्ने पदमार्ग निर्माण भएको छ ।

सङ्ग्रहालय तयार

अन्नपूर्ण गाउँपालिका–८ काफल डाँडामा करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा म्याग्दीको पहिचान झल्काउने सङ्ग्रहालय स्थापना भएको छ । समितिका संरक्षक चामबहादुर पुनले लोप हुन लागेका परम्परागत सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरिएको बताउनुभयो ।

“कला, संस्कृति, जनजीवन र पहिचान झल्काउने सामग्रीलाई लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ”, उहाँले भन्नुभयो, “दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री सङ्कलन गरेर राख्न थालेका छौँ ।”

सङ्ग्रहालय स्थापना गर्न करबाकेलीमा परम्परागत शैली र प्रविधिको प्रयोग गरेर दुईतले भवन निर्माण भएको छ । ढुङ्गा, माटो, चुना, सिमेन्ट, बालुवा, काठ प्रयोग गरेर मौलिकता झल्कने आकर्षक दुईतले भवन निर्माण भएको हो । भवन निर्माण र सामग्री खरिदमा हालसम्म करिब रु ६८ लाख खर्च भएको करबाकेली संरक्षण समितिले जनाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button