तपाईँ सुन्दै हुनुहुन्छः

पूर्ण क्षति भएका घर बनाउन प्रदेश सरकारको २ लाख रुपैयाँ

पोखरा । गण्डकी प्रदेश सरकारले मनाङका बाढी पीडितलाई विशेष राहतको घोषणा गरेको छ । प्रदेशको दुर्गम जिल्लामा बाढीले पु¥याएको क्षतिको मूल्याङ्कन गरी उक्त राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयो ।

मुख्यमन्त्री पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले सोमबार मनाङ जिल्लाको नासों गाउँपालिका २ ठाउँमा पुगेर क्षतिग्रस्तस्थलको अवलोकन समेत गर्नु भएको छ । स्थानीय पीडितसँगको अन्तर्क्रियाका क्रममा मुख्यमन्त्री पोखरेलले बर्खाको सुरुमै भएको क्षतिबाट आफू दुखी भएको भन्दै बाढीले पूर्ण क्षति पु¥याएका घर निर्माणका लागि प्रति घर प्रदेश सरकारले २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नु भएको थियो । मनाङमा अहिलेको बर्खामा ८५ घर पूर्ण क्षति भएको विवरण सङ्कलन भएको पोखरेलका प्रेस सल्लाहाकार भरत कोइराले बताउनु भयो । खास गरी नासों गाउँपालिकाको वडा नम्बर १ मा ७० घरमा क्षति पुगेको छ । धारा पानीमा पनि १२ घरमा क्षति पुगेको खबर प्राप्त भएको कोइराले बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेशमा बाढी र पहिरो प्रभावित क्षेत्रको आवश्यकताका आधारमा प्राथमिकता तोकेर सङ्घ सरकारसँग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । सङ्घ सरकारले यस अघि नै मनाङलाई विपद् सङ्कटग्रस्त घोषणा गरिसकेको छ । जिल्लामा विभिन्न बस्तीको पुनर्निमाणका लागि आफूले केन्द्रसँग समन्वय गरिहरेको बताउनु भयो । मनाङ सदरमुकाम चामेमा बाढीकै कारण बिजुली बत्ती नबलेपछि प्रदेश सरकारले सबै सरकारी कार्यालयहरूमा सोलार जडान गरिसकेको छ । जसका कारण सेवाग्राहीले सहजै सेवा लिन पाएका छन् ।

अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले बाढी र पहिरो प्रभावितहरूको पहिचान गरी तत्काल र दीर्घकालीनरुपमा समस्या समाधानका लागि सरकार कटिबद्ध भएको बताउनु भयो । वडा नम्बर १ को अधिकांश बस्ती बगरको रुपमा परिणत भएकोले अस्थायी बसोबासका साथै प्रभावितहरूलाई खान बस्न प्रबन्ध भइरहेको र प्रदेश सरकारले कमी हुन नदिने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

नासो गाउँपालिका धारापानी, मनाङमा गत असार १ गते परेको अविरल बर्षादले मर्स्याङ्दी नदी र दुधखोलामा आएको बाढीका कारण गाउँका ९ वटै वडाहरू प्रभावित भएको नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताउनु भयो । बाढीले स्थानीयको घर बास नै डुबाउनुका साथै खेतीयोग्य जमिन समेत बगाएको छ । मूल सडक र झोलुङ्गे पुल बगाएका छन् । गोरेटो बाटो समेत हिँड्न सकिने अवस्थामा छैन । सञ्चार र बिजुलीसमेत नहुँदा आफूहरूमा मर्कामा परेको स्थानीयले दुखेसो गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button