तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा प्रधानमन्त्री कृषि आधुनिकीकरणको पकेट कार्यक्रम प्रभावकारी बनाउन जोड

जनकपुरधाम । धनुषा जिल्लाको १८ पालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पालिकाले सञ्चालन गरेको ५८ वटा पकेटको कार्यक्रम केही पालिका छाडेर प्रभावकारी रहेको छ । 

परियोजनाको कार्यान्वयन इकाई धनुषाले आज जनकपुरधाममा आर्थिक वर्ष २०७७/७८ मा विभिन्न पालिकाहरूले सञ्चालन गरेको पकेट कार्यक्रमको प्रगति समीक्षा कार्यक्रममा सहभागी भएका पालिकाका प्रतिनिधिहरूले गत वर्ष जस्तो ढिलाइ नयाँ आर्थिक वर्षमा नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । यसका साथै विगत वर्षको कमी कमजोरी नदोहरिने पनि जनाएका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सबै भन्दा तल्लो तहमा सञ्चालनमा रहेको पकेट कार्यक्रम अन्तर्गत धनुषामा कृषि वाली तर्फ एक पालिकामा २ तथा पशु तर्फ १ वटा पकेट कार्यक्रम अनिवार्य रुपमा सञ्चालन भएको परियोजनाका कार्यान्वयन इकाई धनुषाका कृषि अधिकृत कालिकान्त मिश्रले जानकारी दिनुभयो । 

यसका अतिरिक्त धनुषाको नगराइन, शहिदनगर, क्षिरेश्वरनाथ तथा हंशपुर नगरपालिकामा माछाको पकेट कार्यक्रम सञ्चालन भएको पनि मिश्रले जानकारी दिनु भयो । धनुषा जिल्लाका पालिकाहरूले कृषि तर्फ तेलहन, दलहन, धान खेती गरेको छ भने पशु तर्फ बाख्रा भैँसी तथा बङ्गुर पालन कार्यक्रम गरेको परियोजनाका धनुषा जिल्लाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले जानकारी दिनुभयो । 

पकेट कार्यक्रमबाट धनुषाका ५ हजार किसान प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । कृषिको पकेट कार्यक्रम अन्तर्गत २० लाख, पशुको लागि १५ लाख एवं माछाका लागि १५ लाख बजेट विनियोजन भएका थिए । कतिपयले शत प्रतिशत खर्च गरेको पनि परियोजनाले जानकारी दिएको छ । 

कृषि क्षेत्रको उत्पादन बढाउनका लागि स्थानीय तहले सञ्चालन गर्ने यो कार्यक्रम धनुषाको जनकपुरधाम उपमहानगरपालिका तथा औरही पालिकाले सञ्चालन गर्न सकेको छैन । ती दुई पालिकाको प्रगति शून्य रहेको परियोजनाका प्रमुख तिवारीले जानकारी दिनुभयो । 

जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा गणेशमान चारनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद काफ्ले सहितका वक्ताहरूले कृषिको उत्पादन बढाउन तथा कृषिको आधुनिकीकरण एवं बजारीकरण गर्नमा परियोजनाले खेलेको भूमिका प्रशंसनीय भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button