पातारासी गाउँपालिकाका सबै वडामा कृषि पकेट क्षेत्र घोषणा

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाका सबै वडामा कृषि पकेट क्षेत्र घोषणा गरिएको छ ।
वडाको उत्पादन तथा अनुकूलताका आधारमा पातारासीका ७ वटै वडामा कृषि पकेट क्षेत्र घोषणा गरिएको हो ।
कृषि पकेट क्षेत्र घोषणा गरेसँगै स्थानीय रैथाने अन्नबाली उत्पादन बढ्ने आशा गरिएको स्थानीय किसानहरूले बताएका छन् ।
पातारासी गाउँपालिका ७ का किसान तारा बहादुर बोहोराले पकेट क्षेत्र घोषणा गरेपछि खेती गर्न सहज भएको र विगतको तुलनामा उत्पादन पनि बढ्ने आशा पलाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिला थरी थरीका बालीनाली लगाउँदा मेहनत धेरै लाग्ने उत्पादन नहुने समस्या थियो । तर अहिले पकेट क्षेत्र घोषणा भएपछि सबैले एकैनासे खेती गर्न थालेका छन् । जसका कारण ७ नम्बर वडामा आलु खेती मात्रै गरिएको छ । यस वर्ष आलु उत्पादन बढ्ने अनुमान छ ।”
पकेट क्षेत्रमा उत्पादित आलु, फापर, कोदोको अर्डर आउन थालिसकेको समेत किसान बोरोराले जानकारी दिनुभयो । जिल्लामै बस्ने कर्मचारी तथा बाहिर जिल्लाका नागरिकले क्विन्टलका हिसाबले अर्डर दिन थालेपछि खुसी लागेको उहाँले बताउनुभयो ।

पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले रैथाने बालीको उत्पादन वृद्धि, रोजगारी सृजना र बाँझो रहेको खेतीयोग्य जमिनको सदुपयोग गर्न पातारासीका सबै वडामा कृषि पकेट क्षेत्र घोषणा गरिएको बताउनुभयो ।
पहिले देखिनै फापर,सिमी,आलु लिनेहरूको अर्डर आउन थालेकाले पातारासीका पकेट क्षेत्रमा उत्पादित कृषि वस्तुको बजारीकरणमा समस्या नरहेको उहाँको भनाई छ ।
अध्यक्ष बोहोराका अनुसार पातारासीका वडा नंं. १ र २ मा फापर पकेट क्षेत्र घोषणा गरिएको छ ।
त्यसैगरी, वडा नं.३ मा काली मार्सी ,४ मा चिनो कागुनो, ५ मा सिमी, ६ मा फलफूल तथा तरकारी र ७ मा आलु र जौँ गहुँ पकेट क्षेत्र घोषणा गरिएको छ ।
पातारासी क्षेत्र आलु, मकै तथा फापर उत्पादनका हिसाबले आत्मनिर्भर क्षेत्र मानिने छ ।
पकेट क्षेत्र घोषणापछि रैथाने उत्पादन वृद्धि हुने र खेती गर्न पनि सहज भएको भन्दै किसान खुसी भएको अध्यक्षले बोहोराले जानकारी दिनुभयो ।

पातारासीमा रहेका ३४ सय घरधुरी नै कृषि खेतीमा निर्भर रहेका छन् ।
जुम्लाका आठै स्थानीय तहले कृषिबाटै आर्थिक, सामाजिक विकास तथा रोजगारी गर्न कृषिमैत्री नीति कार्यक्रममा जोड दिन आबश्यक छ । पकेट क्षेत्र, जोन घोषणा गरेर कृषि क्षेत्रमा पनि एकद्धार प्रणाली लागु गर्न आबश्यक छ ।








प्रतिक्रिया राख्नुहोस्