तपाईँ सुन्दै हुनुहुन्छः

काबुल तालिबानीको कब्जामा, राष्ट्रपति भवनमा वार्ता जारी, इस्लामिक राष्ट्र घोषणा गर्ने तालिबानको तयारी

काबुल। अफगानिस्तानको राजधानी काबुल त्यहाँका सशस्त्र विद्रोही तालिबानीहरुले कब्जामा लिएका छन् । उनीहरू आइतबार साँझ राजधानी काबुल प्रवेश गरेका हुन् ।

त्यस लगत्तै उनीहरूले यहाँका राष्ट्रपतिको निवास पनि कब्जा गरेका छन् । त्यसको केही क्षणअघि राष्ट्रपति अशरफ घानीले देश छोड्नुभएको बताइएको छ ।

उहाँ देश छोडेर कहाँ जानुभएको हो भन्ने विषयमा केही बताइएको छैन । यस विषयमा अफगानिस्तानको सरकारले पनि केही भनेको छैन ।

तर अफगानिस्तानको नेशनल रिकन्सिलिएसन काउन्सिलका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले आफ्नो फेसबुक पेजमा राष्ट्रपति घानीले देश छोडेका भन्दै त्यसको भिडियो पोष्ट गर्नुभएको छ ।

अफगानिस्तानका राजधानीतर्फ तालिवानी विद्रोहीहरूले प्रवेश गरेपछि अफगानिस्तानका गृहमन्त्रीले अफगान सरकार शान्तिपूर्णरुपमा तालिबानीहरुलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताउनुभएको छ ।

तर त्यस अगावै राष्ट्रपति घानीले देश छोड्नुभएको बताइएको छ । आइतबार राति नै तालिबानीहरु काबुलस्थित राष्ट्रपति निवासमा प्रवेश गरेका छन् । उनीहरूले आइतबार राति राष्ट्रपति कार्यालय र निवास कब्जामा लिएको जानकारी गराएका छन् ।

आइतबार रातिदेखि नै राष्ट्रपति निवासमा अफगान सरकार र तालिबानीका प्रतिनिधिहरुबीच सुरु भएको वार्ता सोमबार बिहानसम्म जारी रहेको बताइएको छ ।

सो वार्तामा तालिबानीहरुलाई वैधानिकरुपमा सत्ता हस्तान्तरण गर्ने विषयमा कुराकानी भइरहेको अनुमान गरिएको भए पनि यस विषयमा सरकारकोतर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

उता तालिबानीहरुले भने अब छिट्टै तालिबानीहरुले अफगानिस्तानको सत्ता सम्हाल्ने बताएका छन् । उनीहरूले अब छिट्टै इस्लामिक राज्य स्थापनाको घोषणा गर्ने बताएका हुन् ।

तालिबानहरुले आफ्ना लडाकुहरूलाई राजधानी काबुल प्रवेश गर्न अनुमति दिएका थिए । त्यसपछि आइतबार साँझ नै उनहरू काबुल आएका हुन् ।

यहाँ हिंसा हुने खतराले गर्दा राति ९ बजेदेखि बिहानसम्म कफ्र्यू आदेश जारी गरिएको बताइएको छ ।आइतबारदेखि सोमबार बिहानसम्म पनि अफगानिस्तानबाट विभिन्न देशहरूले आफ्ना नागरिकलाई स्वदेश फर्काएका छन् ।

त्यसै गरी अफगानिस्तानका कैयौँ विदेश नागरिक आफैँ पनि आफ्ना देश फर्किरहेका छन् । उता तालिबानहरुले भने कसैसँग बदला नलिने भन्दै आफूहरूसँग नडराउन भनिरहेका छन् ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button